कोरोनाको संक्रमणबाट बेलायतमा पूर्व गोरखा ६५ वर्षीय लक्षीनबहादुर गुरुङको सोमबार बिहान मृत्यु भएको छ।
गुरुङसहित बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या १० पुगेको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ। केही दिनयता दिनदिनै नेपालीको मृत्यु भएको खबर आइरहेको छ।
पुर्खौली घर कास्की घान्द्रुकका गुरुङ लन्डनमा घरमै सेल्फ आइसोसेसनमा बसिरहेका बेला श्वास फेर्न गाह्रो भएपछि करिब १० दिनअघि अस्पताल भर्ना भएका थिए। लन्डनको रोयल बक्सायर अस्पताल रेडिङमा गुरुङको मृत्यु भएको हो।
लन्डनस्थित नेपाली दूतावासका प्रवक्ता एवं उपनियोग प्रमुख शरदराज आरणले बेलायतमा सोमबारसम्म १० जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको बताए।