
गोरखा । गोरखा नगरपालिका ८ आलेगाउँका अनिष आलेको हत्याको संलग्न रहेकाे भन्दै सात जना युवालाई पुर्पक्षका लागि थुनामा पठाइएकाे छ ।
गत असार ३० गते खोलखोलेमा आलेको शव भेटिएपछि अनुसन्धानका लागि पक्राउ परेका उनीहरुलाई गोरखा जिल्ला अदालतले सोमबार पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको हो ।
अदालतको आदेशमा गोरखा नगरपालिका ८ का २० बर्षका शिशिर थापा, पालुङ्टार नगरपालिका ८ का १९ बर्षका सचिनबाबु कोइराला, पालुङ्टार २ का १९ बर्षीय सुलवबाबु राना, धार्चे ५ का २३ बर्षीय सुरेश सुनारलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



त्यस्तै बारपाक सुलीकोट ४ का २१ बर्षीय विष्णु बिक, बन्दीपुर गाउँपालिका ६ का १९ बर्षका प्रथम गुरुङ र गढवा गाउँपालिका ८ दाङ घर भै गोरखा बस्दै आएका ४२ बर्षका नरेश बुढामगरलाई सोमबार कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुविरुद्ध प्रहरीले गत असार ३१ गते कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको थियो ।
