
गोरखा। पाँच वर्षदेखि ११ वर्ष उमेरका बालवालिकालाई फाईजर खोप लगाउने सम्बन्धी गोरखाका स्वास्थ्यकर्मीलाई तालिम दिइएको छ ।

स्वास्थ्य कार्यालय गोरखाको आयोजना र एफएचआई ३६० को सहयोगमा पालुङटारमा फाईजर खोपको लागि स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरेको हो ।
साउन २० देखि सुरु तालिम साउन २६ गते सम्म चल्ने स्वास्थ्य कार्यालयका नानीबाबु दानीले बताए । कसरी खोप लगाउने, सुरक्षित कसरी गर्ने भन्ने बारेमा स्वास्थ्यकर्मीलाई तालिम दिइएको हो ।
‘कुन दिन कति जना बालवालिकालाई कसरी खोप लगाउन सकिन्छ भन्ने योजना हरेक पालिकाको स्वास्थ्यकर्मीले संयुक्त रुपमा बनाउँछन्’ स्वास्थ्य कार्यालयका नानीबाबु दानीले भने ‘तालिम सँगै योजना बनाएपछि भदौ ५ गतेबाट जिल्लाभर एकै साथ सुरु हुन्छ ।’


चुमनुब्री बाहेकका १० वटा पालिकाका हरेक विद्यालयमा खोप केन्द्र संचालन गरेर भदौ ८ गते सम्म पाँच वर्षदेखि ११ वर्ष उमेरका बालवालिकालाई खोप लगाईने स्वास्थ्य कार्यालयका प्रमुख नरजंग ठकुरीले बताए । गोरखामा ५ देखि ११ वर्ष उमेरका एक लाख भन्दाबढि बालवालिका छन् ।

स्वास्थ्य कार्यालयले खोप बाहेकका अन्य सामग्री ल्याईसकेको र केहीदिनमा फाईजर खोप जिल्लालाई पुग्ने गरी आउने जनाएको छ ।
स्वास्थ्य कार्यालय गोरखाका प्रमुख नरजंग ठकुरीको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा पालुङटार नगरपालिकाका नगरप्रमुख बिवस चिन्तन, प्रमुख प्रशासकिय अधिकृत गौतम भण्डारी, वडा नम्बर ४ का अध्यक्ष मानबहादुर पौडेल लगायतले मन्तब्य राखेका थिए ।
तालिममा गोरखाका ११ वटै स्थानीय तहका खोप कार्यकर्ता, स्वास्थ्य शाखा प्रमुखहरु, स्वास्थ्य चौकी प्रमुखहरु लगायतको उपस्थिती रहेको थियो । उक्त तालिममा गोरखा जिल्लाभरका गरी चार सय स्वास्थ्यकर्मी सहभागी हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।


