
गोरखा । मनकामना केबुलकार मर्मत संभारका लागि आजबाट ६ साता बन्द भएको छ ।
एनालग प्रविधिमा रहेको केबुलकार डिजिटल प्रविधिमा लानको लागि आज साउन २३ गतेदेखि भाद्र मसान्तसम्म ६ साता बन्द गरिएको हो ।

केबलकार मर्मतका लागि अष्ट्रेलियाबाट प्राविधिकहरू आइ सकेको भन्दै मनकामना दर्शन प्रालिले सूचना जारी गर्दै ६ सातासम्म बन्द गर्न लागेको जनाएको छ ।
सञ्चालक मध्ये एक राजेशबावु श्रेष्ठका अनुसार स्तरोन्नतिका लागि ५–६ हप्ता लाग्ने प्रारम्भिक प्रक्षेपण गरिएको सोही अनुसारको सूचना जारी गरिएको हो । तर समय भन्दा अगावै काम सम्पन्न भएको खण्डमा तुरुन्तै सूचना जारी गरेर सर्व साधारण तथा भक्तजनलाई जानकारी गराईने पनि उनले बताए ।
सञ्चालनको २ दशक पार गरेको केबुलकारले विश्व बजारमा एनालग प्रविधि हराउदै गएको र डिजिटल प्रविधि आउन थालेकोले सोही अनुरुप केबुलकारलाई ढाल्न खोजिएको केबुलकार प्रशासनले जनाएको छ ।
०५५ सालमा मंसिर ८ गतेबाट विधिवत रुपमा सञ्चालनमा आएको केबुलकारले यो अवधीमा १ करोड ६३ लाख ५५ हजारभन्दा बडी तिर्थ यात्रीलाई ओसार पसार गरी सकेको नायब महाप्रबन्धक उज्वल शेरचनले बताए । नायब महाप्रबन्धक शेरचनल केबुलकार असोज १ गतेबाट सञ्चालनमा आउने समेत जानकारी दिए ।


