
गोरखा। गोरखा नगरपालिका– २ को कोखे आहाले पहिराले सवारी आवागमन तथा आवातजावतमा समस्या भएको छ ।

बारम्बार खस्ने पहिरोका कारण गोरखा बजार -घ्याम्पेसाल-आरुघाट सडक विगत नौ दिनदेखि नियमित सुचारु हुन सकेको छैन ।


उक्त पहिरोले गर्दा गोरखा नगरपालिका वडा नम्बर १, २, भीमसेन थापा गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका, आरुघाट गाउँपालिका, धार्चे गाउँपालिका र चुमनुब्री गाउँपालिका सर्वसाधारणले बर्सेनि दुःख पाउँदै आएका छन् ।
उत्तरी गोरखासहित जिल्लाका विभिन्न ठाउँहरूलाई सदरमुकामसम्म जोड्ने प्रमुख सडक नै यही हो ।
डोरीले तानेर भए पनि मुस्किलसँग केही गाडी पास गरिएको गोरखा नगरपालिका–२ का वडाध्यक्ष रहमतुल्ला मियाँले बताए । झन्डै सय मिटर सडकमा निरन्तर पहिरो झरेपछि कालोपत्रे नगरी छोडिएको छ । लगातारको वर्षाले सडक भासिने र बग्ने समस्या उत्पन्न भएको हो । साे क्षेत्रमा विगतदेखि नै कालाेपत्रे नगरी छाडिएकाे साे सडकको झन्डै आधा भागमा पहिरो गएको छ ।
सडक डिभिजन कार्यालय दमौदीका सबइन्जिनियर सञ्जीव श्रेष्ठले जेसीभी लगाएर पहिरो सफा गर्ने काम सुरु गरिएको जानकारी दिए ।


