गण्डकी प्रदेशमा चैत महिनामा छिमेकी मुलुक भारत लगायतका देशबाट आएका ४ हजार १ सय ४६ जनाको कोरोना परीक्षण गरिने भएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को सम्भावित सङ्क्रमण फैलावट रोक्न विदेशबाट प्रदेश भित्रिएका सबैको र्यापिड डाइगोनिष्टक टेष्ट(आरडिटी) गर्न लागिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमित फेला परेका नौ जनामध्ये आठ जना विदेशबाट आएका रहेकाले चैत महिनायता विदेशबाट फर्किएकाको कोभिड–१९ को सङ्क्रमण अवस्था जान्नका लागि सबैको परीक्षण गर्न लागिएको हो ।
गण्डकीमा हालसम्म दुई जनामा कोरोना देखिएको छ । विदेशबाट आएका बाग्लुङकी १९ वर्षीया युवती र अर्की एक ६५ वर्षीया महिलामा कोरोना सङ्क्रमण देखिएपछि उनीहरुको आइसोलेशनमा राखेर उपचार भइरहेको छ ।