गोरखा । लकडाउनका बेला खाद्दान्न लगायतका अत्याबस्यक सामाग्रीको समस्या भएकालाई गोरखा नगरपालिकाले राहत दिने भएको छ ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गत चैत ११ गतेदेखि लकडाउन घोषणा गरेसंगै श्रमजीवि एवं मजदुरका लागि सहयोग गर्न भन्दै गोरखा नगरपालिकाले राहतको प्याकेज घोषणा गरेको थियो ।
सोही अनुसार हाल १४ वटै वडामा मजदुर तथा विपन्न परिवारको तथयांक संकलन भइरहेको नगरप्रमुख राजनराज पन्तले बताए ।
राहत वितरणका लागि कार्यविधी नै निर्माण गरेको नगरपालिकाले दैनिक गुजाराका लागि खर्च जुटाउन नसक्ने परिवारलाई खाद्दान्न लगायतका आवस्यक सामाग्री सहयोग गर्ने तयारी गरेको नगरप्रमुख पन्तले जानकारी दिए ।
गोरखा नगरपालिकाले कोरोना भाइरस लगायतको विपत्तिसंग लड्न २५ लाख रुपैयाको कोष समेत स्थापना गरेको जनाएको छ ।
त्यस्तै हालसम्म गोरखा नगरपालिका वडा नम्बर २ ले त्यस्ता ब्यक्ति तथा परिवारको तथ्यांक संकलन गरिसकेको बताएको छ ।
वडाभित्र रहेका ११ वटा टोल विकास संस्थालाई परिचालन गरेर तथ्यांक संकलन गर्दा १ सय १ जनालाई तत्काल राहत दिनुपर्ने देखिएको वडाध्यक्ष रहमतुल्ला मियाँले जानकारी दिए ।