
गोरखा । दृष्टिविहीनका लागि गोरखामा एक महिने कम्प्यूटर तालिम सञ्चालन भएको छ । गोरखा नेत्रहीन संघको आयोजनामाएक एक महिने कम्प्यूटर तालिम सञ्चालित गरिएको हो ।

सरस्वती मावि आहाले, जलकुमारी मावि थुमी र अमरज्योति मावि लुईटेलमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरु तालिममा सहभागी रहेको गोरखा नेत्रहीन संघका अध्यक्ष पवन बस्नेतले बताए ।
तालिममा १४ जना सहभागी थिए । गोरखा नगरपालिका–५ स्वाँरा स्थित संघको भवनमा तालिम सञ्चालन भइरहेको उनले बताए । विद्यालयको बर्खे बिदाको समयमा दृष्टिविहीन विद्यार्थीलाई सीप सिकाउने उद्देश्यले तालिम सञ्चालन गरिएको उनले बताए ।
विद्यार्थीलाई कम्प्युटर सिकाउने सुमित्रा कुमारी माझीका अनुसार विद्यार्थीहरु अहिले नेपाली टाइपिङ गर्न जान्ने भइसकेका छन् ।
विद्यालयमा कम्प्यूटर भएता पनि प्रयोग गर्न सकेका थिएनन यो तालिमले बिद्यालयमा भएको कम्प्यूटरको सदुपयोग हुने संयोजक अमृत राईले बताए ।


