
तनहुँको आँबुखैरेनीमा यही भाद्र २ गतेदेखि भाद्र १५ गते सम्म दोस्रो आँबुखैरेनी सांस्कृतिक महोत्सव–२०७९ हुने भएको छ ।
“विभिन्न जातजातीको कला, संस्कृति, परम्परा, भेषभूषा, संस्कारको पहिचान युवा जगतको अभियान” भन्ने मूल नाराका साथ मिलन युवा समाज क्लब र आँबुखैरेनी कला केन्द्रको आयोजना, आँबुखैरेनी भलिबल संघको सह–आयोजना तथा आँबुखैरेनी गाउँपालिकाको संरक्षकमा दोस्रो आँबुखैरेनी सांस्कृतिक महोत्सव हुन लागेको हो ।



आँबुखैरेनी गाउँपालिका–३, थुम्कीचौतारा(पाउरोटी भण्डार) नजिकै संचालन गरिने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुद्धारा विशेष प्रस्तुती, मिस क्विन तिज प्रतियोगिता, हास्य व्याङ्ग, स्थानीय कलाकारद्धारा लाईभ कन्र्सट, रमाइलो मेला, सस्तो बजार, बाल उद्यान, विभिन्न जातजातिका खानाका परिकार, भलिबल प्रतियोगिता, कृषि प्रर्दशनी लगायत मुख्य आर्कषण रहेको महोत्सव मूल समारोह समितीका संयोजक अभियान श्रेष्ठले जानकारी दिए।
महोत्सवबाट उठेको रकमले एम्बुलेन्स खरिद गरी बिरामीको अवस्था हेरेर निः शुल्क सेवा प्रदान गरिने र असहाय, दिनदुःखी, विपन्न वर्गलाई आर्थिक सहयोग गरिने महोत्सवका संयोजक एवंम मिलन युवा समाज क्लबका अध्यक्ष श्रेष्ठले बताए ।
महोत्सव भव्य रुपले सफल पार्नका लागि सचिवालयको स्थापना गरेर आवश्यक तयारी अगाडी बढाईएको र स: शुल्क कार्ड वितरण प्रक्रिया समेत सुरु गरिएको आयोजकले जनाएको छ ।


