
पहिरोका कारण डुम्रे–बेसीसहर सडक खण्ड अवरुद्ध भएको छ।
गए राति बेसीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडामा पहिरो गएपछि सडक खण्ड अवरुद्ध भएको हो।
यो सडक श्रीजङ्ग गण नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिएको छ । माथिबाट रिठ्ठेबगरमा लेदो आएर सडकमा थुप्रिएको प्रहरीले जनाएको छ। लेदोले सडक अवरुद्ध भएको छ भने वैकल्पिक सडक पनि भासिएको छ।
मर्स्याङ्दी नदीले तलबाट सडक कटान गरेको र माथिबाट बगेर आएको लेदोका कारण करिब तीन मिटर सडक भासिएको प्रहरीले जनाएको छ।
सडक अवरुद्ध भएका कारण बिहानैदेखि कुनै पनि गाडी आवतजावत हुन सकेको छैन।