
काठमाडौं उपत्यका प्रवेश गर्ने प्रमुख नाका नागढुंगामा सवारी साधन जाँच तथा अभिलेख राख्न अत्याधुनिक उपकरण जडान गरिने भएको छ।
उपत्यका भित्रिने र बाहिरिने सवारी साधनका दैनिक ‘रेकर्ड’ ट्राफिक प्रहरीले हातले नै राख्दै आएका छन् भने आशंका लागेका सवारी साधन तथा यात्रुलाई खानतलासी गर्ने काम उनीहरुले नै गरिरहेका छन्।


उपत्यका भित्रिने प्रमुख नाकामा अवस्थित चन्द्रागिरि नगरपालिकाले देशमा नै पहिलोपटक ‘भेइकल स्क्यानिङ मेसिन’ सो स्थानमा राख्न गृहकार्य सुरुआत गरेको छ। यसका लागि नगरपालिकाले पहिलो चरणमा नेपाल प्रहरीका उच्च नेतृत्व, सडक विभागलगायत अन्य सरोकार निकायसंँग संवाद गरिसकेको छ।
‘काठमाडौं उपत्यकाको सुरक्षाका दृष्टिकोणले नागढुंगामा ‘भेइकल स्क्यानिङ मेसिन’ राख्नु जरुरी छ। प्रविधिको युगमा पनि कति दिन हातले लेखेर सवारी साधनको रेकर्ड राख्ने?,’ नगरप्रमुख घनश्याम गिरीले भने।


उक्त मेसिनले सवारी साधनसहित चालक एवं आवश्यकताअनुसार यात्रुको पनि ‘स्क्यानिङ’ गरी अभिलेख राख्छ। यसले सुरक्षा तथा ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने जनाइएको छ। मेसिनको करिब रू दुई करोड ५० लाख पर्ने जनाइएको छ।
गिरीका अनुसार मेसिन खरिदका लागि नगरपालिकाले उपत्यकाका अन्य पालिका तथा सरोकार निकायसँग सहकार्यका लागि आह्वानसमेत गरेको छ।
