• शनिबार, भाद्र २७ २०८३

पानी नपर्दा देशभर रोपाइँ प्रभावित


आइतबार, साउन १ २०७९
1.2K
Shares

असारको अन्तिममा आएर पानी पर्न छोडेपछि त्यसको असर धान रोपाइँमा परेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार धान खेतीको हब मानिने क्षेत्रमै कम मात्रामा रोपाइँ हुँदा यस वर्ष असारमा गत वर्ष भन्दा ११ प्रतिशत कम मात्रामा रोपाइँ भएको छ ।

३२ असारसम्म देशभर कुल ९ लाख ७० हजार ४८४ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । जुन कुल रोपाइँ हुने क्षेत्रफलको ६५ प्रतिशत हो । गत वर्ष यो अवधिमा ११ लाख २२ हजार ८०७ हेक्टर क्षेत्रफल (७६ प्रतिशत) मा रोपाइँ भएको कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताए ।

मनसुन ब्रेककाे कारणाले यसवर्ष कम मात्रामा रोपाइँ भएको प्रवक्ता सञ्जेलले बताए । यसको असर प्रदेश एक र मधेश प्रदेशमा परेको र मंगलबारसम्ममा मनसुन सक्रिय हुने अनुमान गरिएको उनले बताए ।

कृषि विभागकाअनुसार असार मसान्तसम्म मधेश प्रदेशमा ५७ र प्रदेश एकमा ४९ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । जबकी यी क्षेत्रमा गत वर्ष यस अवधिमा क्रमश ६९ र ६४ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको विभागका उपसचिव महानन्द जोशीले बताए । प्रदेश एकमा ३ लाख ४० हजार ८२९ हेक्टर र मधेश प्रदेशमा ४ लाख ५ हजार ४५० हेक्टर रोपाइँ योग्य जमिन छ ।

विभागका अनुसार यस वर्ष देशभर रोपाइँ योग्य खेतको क्षेत्रफल करिब २७ हजार हेक्टर बढेको छ । गत वर्ष १४ लाख ७७ हजार ३७८ हेक्टर क्षेत्रफलमा रोपाइँ भएकामा यस वर्ष यस्तो क्षेत्रफल १५ लाख ४ हजार ४८६ हेक्टर पुग्ने विभागको अनुमान छ । तथ्यांक हेर्दा यस वर्ष देशैभरको समग्र रोपाइँलाई वर्षाले असर गरेको मन्त्रालयले जनाएको छ ।

असार मसान्तसम्म बागमती प्रदेशमा ६५, गण्डकी र लुम्बिनीमा प्रदेशमा ७५, कर्णालीमा ५६ र सुदूरपश्चिम प्रदेशमा ८७ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । यस वर्ष गत वर्ष भन्दा गण्डकबाहेकका सबै प्रदेशमा कम मात्रामा रोपाइँ सकिएको विमागले जनाएको छ । गण्डकीमा गत वर्ष भन्दा ३ प्रतिशत बढी क्षेत्रमा रोपाइँ भएको छ । यस्तै बागमतीमा १३ प्रतिशत कम, लुम्बिनीमा प्रदेशमा १२, कर्णालीमा २६ र सुदूरपश्चिम प्रदेशमा ४ प्रतिशत क्षेत्रफलमा कम रोपाइँ भएको विभागको तथ्यांक छ ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले रोपाइँ कम हुनुको कारणलाई नजिकबाट नियली रहेको जनाएको छ । नार्कले आफ्ना देशभरका स्टेसन र मौसम प्रणालीलाई हेरेको र मंगलबारदेखि मनसुन सक्रिय हुने सूचना पाएको नार्कका कार्यकारी निर्देशक डा. दीपक भण्डारीले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार