• शनिबार, भाद्र २७ २०८३

प्याराग्लाइडिङ विस्थापित नगर्न व्यवसायीको माग


शनिबार, असार ३२ २०७९
755
Shares

अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै पोखराको साहसिक पर्यटकीय पहिचान बनेको प्याराग्लाइडिङ विस्थापित हुने हो कि भन्ने कुराले प्याराग्लाइडिङ व्यवसायीलाई चिन्तित बनाएको छ । 

अन्तर्राष्ट्रिय विमानस्थल पोखरामा ल्याउन सक्रिय व्यवसायी त्यही विमानस्थलले झण्डै रु डेढ अर्ब लगानीको व्यवसाय विस्थापित हुने हो कि भन्ने चिन्तामा छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सकिएकाले आगामी जनवरीमा सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

सोको लागि प्याराग्लाइडिङलाई विकल्पको छनोट गरेर सार्न निर्देशन दिइएको छ । तर, व्यवसायीको माग पोखराको आकाशबाट विस्थापन नभई व्यवस्थापन हुनुपर्छ भन्ने छ । 

“प्याराग्लाइडिङ साहसिक पर्यटनको एउटा ब्राण्ड हो, पोखराको आकाशमा उड्न जति पर्यटक रमाउँछन् त्यो अन्यत्रबाट हुँदैन । तसर्थ यही कतै व्यवस्थापन गर्नुपर्छ”, नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनिलबहादुर भट्टराईले भने । उनले सरकारले चाह्यो भने समय छुट्टाएर यही आकाशबाट उडाउन सक्ने र आफूहरुको पनि त्यही माग भएको बताए । 

“हामी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने भन्ने विषयमा जति उत्साहित भएका थियौँ, अहिले विमानस्थल निर्माणसँगै कतै आफ्नै व्यवसाय नै विस्थापित हुन्छ कि भन्ने चिन्ताले पिरोलिएका छौँ”, भट्टराईले थपे । 

जहाज उडानको समय तालिकालाई ध्यान दिएर प्याराग्लाइडिङको लागि दुई घण्टा समय तोकेर भए पनि सञ्चालन गर्नुपर्ने उनको भनाइ छ । नेपाल हवाई खेलकुद संस्थाका पूर्वअध्यक्ष योगेश भट्टराई प्याराग्लाइडिङको व्यवस्थापनमा सरकारले विशेष चासो दिनुपर्ने बताउछन् । प्राधिकरणले अहिलेसम्म यस विषयमा विशेष चासो राखेर व्यवसायीको आवाजलाई सम्बोधन गर्नेतर्फ नलाग्नु दुःखद् भएको उनको भनाइ छ । 

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई पोखरामा भइरहेका साहसिक उडानका गतिविधि रोकिँदा पर्यटकको पोखरा बसाई पनि घट्न सक्ने बताउछन् । पोखराको आकाशमा सन् १९९६ देखि प्याराग्लाइडिङ उडान सुरु भएको हो । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार