
किसानको लागि मानो खाएर मुरी उब्जाउने महिना असार यस बर्ष सकिनै लाग्यो ।
असारको महिना सकिनैलाग्दा गण्डकी प्रदेशमा ६२ प्रतिशत रोपाईं सम्पन्न भएको छ । आधा भन्दा बढी रोपाइँ सकिदासम्म किसानहरु भने मल अभावको समस्या झेलिरहेका छन् ।

प्रदेशको धान खेती हुने १ लाख ३ सय १० हेक्टर क्षेत्रफल मध्ये ६२ हजार ५ सय १० हेक्टरमा रोपाइँ सकिएको कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका निमित्त प्रमुख बासुदेव रेग्मीले जानकारी दिए ।
अझै केही ठाँउमा रोपाइँ चलिरहेकाले प्रदेशमा ९५ प्रतिशतसम्म रोपाइँ हुने उनको अनुमान छ । गत वर्ष यही समयमा ३६ प्रतिशत रोपाइँ भएको थियो ।


प्रदेशका ११ जिल्ला मध्ये मनाङ र मुस्ताङमा धान खेती हँुदैन । यसबाहेक म्याग्दीको अधिकांश क्षेत्र हिमाली क्षेत्रमा पर्ने भएका कारण पनि कम मात्रामा धान उत्पादन हुन्छन् । म्याग्दीमा ४० प्रतिशत रोपाइँ भइसकेको छ । प्रदेशको धान खेती हुने ९ जिल्ला मध्ये सबैभन्दा बढी कास्कीमा ८० प्रतिशत रोपाइँ सकिएको छ ।
त्यसपछि नवलपुरमा ७० प्रतिशत सकिएको छ । बाग्लुङमा ६५ प्रतिशत सकिएको छ । यस्तै लमजुङमा ६२, स्याङ्जामा ६१, गोरखामा ५५, तनहुँमा ४२ र पर्वतमा ४२ प्रतिशत रोपाँइ सकिएको कृषि विकाश निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
यसपाली मनसुनले पनि साथ दिएकोले धान उत्पादनमा वृद्धि हुने कृषि निर्देशनालयले जनाएको छ । तर कृषकले समयमा मल नपाउँदा धान उत्पादनमा केही असर गर्ने निमित्त प्रमुख रेग्मीको भनाई थियो ।
‘कृषि सामाग्री कम्पनी लिमिटेडले भने यूरिया मल आउन साउन कुर्नुपर्ने बताएको छ ।’ बफर जोन (स्टक) मा रहेको डिएपी र पोटास केही दिनमा बाड्ने सहमती भएको लिमिटेडका गण्डकी शाखा प्रमुख ठाकुर प्रसाद बास्तोलाले जानकारी दिए ।
यूरिया मल भने स्टकमै सकिएकाले गाह्रो भएको उनले बताए । साउनको १५ सम्म यूरिया मल नेपाल भित्रने गरी सम्झौता भएको लिमिटेडका शाखा प्रमुख बास्तोलाको भनाई छ ।


