
गोरखा । गोरखाकाे द्रब्यशाह बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्राप्त गर्न सफल भएकाे छ । गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषदकाे सिफारिसमा विश्वविधालय अनुदान आयाेगले द्रव्यशाह बहुमुखी क्याम्पसलाई प्रत्यायनकृत गर्ने निर्णय गरिएकाे आयाेगका निर्देशक डा ऋृषिकेश पाण्डेले बताए ।
८ बर्षअघि देखि बिभिन्न चरणकाे मुल्यांकन प्रकृयामा भाग लिएकाे क्याम्पसले १ सय २० सूचकहरु पार गर्दै २०७९ सालमा आएर क्यूएए प्राप्त गर्न सफल भएकाे क्याम्पस प्रमुख रामचन्द्र दुवाडीले सिभिलखबरलाई जानकारी दिए ।



क्यूएए प्राप्त गर्नका लागि क्याम्पसकाे भाैतिक सुबिधा, अनुसन्धानमुखी शिक्षण सिकाइ कृयाकलाप, नतिजाकाे स्तर, अतिरिक्त कृयाकलाप, पाठ्यक्रम, प्राध्यापकहरुकाे अनुसन्धानात्मक कार्य लगायत गरी १ सय २० सुचकहरुकाे मुल्यांकनमा मापदण्ड पार गरेकाे प्रमुख दुवाडीले बताए ।

द्रब्य शाह बहुमुखी क्याम्पस क्यूएए प्राप्त गर्ने जिल्लाकै पहिलाे क्याम्पस समेत बनेकाे छ । क्यूएए प्राप्त गरेसंगै अब साे क्याम्पसमा अध्ययन गर्ने विधार्थीकाे स्तर अन्तराष्ट्रिय शैक्षिक मापदण्ड अनुरुपकाे मानिने क्याम्पसले जनाएकाे छ ।
त्यस्तै क्यूएए प्राप्त गरेका क्याम्पसका विधार्थी विश्वकाे जुनसुकै विश्वविधालयमा पनि अध्ययनका लागि र हरेक क्षेत्रमा राेजगारीका लागि समेत प्राथमिकतामा पर्ने क्याम्पस प्रमुख दुवाडीकाे भनाई छ ।



गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्राप्त गर्न सफल रहेकाे द्रब्यशाह बहुमुखी क्याम्पस विश्वविधालय अनुदान आयाेगले प्रमाणपत्र लिन आगामी असार २९ गते बाेलाएकाे दुवाडीले बताए ।
२०४२ सालमा स्थापना भएकाे द्रब्य शाह बहुमुखी क्याम्पस गोरखा नगरपालिका वडा नम्बर ९ काे लक्ष्मीबजारमा ४५ राेपनी जग्गामा फैलिएकाे छ ।
स्थापनाकालमा करिब ८ बर्ष सदरमुकामकाे श्री शक्ती माविकाे भवनबाट पठनपाठन सुरु गरेकाे साे क्याम्पस हाल आफ्नै सुविधासम्पन्न भवनहरुबाट पठनपाठन सञ्चालन गर्दै आइरहेकाे छ ।

स्नातक तहमा ब्यवस्थापन, शिक्षा र मानवीकी साथै स्नातकाेत्तर तहमा ब्यवस्थापन र मानवीकी संकाय अध्यापन गराइरहेकाे क्याम्पसमा हाल ७ सय ३४ जना बिधार्थी अध्ययनरत रहेकाे सहायक क्याम्पस प्रमुख एकदेव अधिकारीले बताए ।
आयाेगले द्रब्यशाहसहित देशभरका गरी ८ क्याम्पसलाई क्यूएए प्रदान गरेकाे हाे ।


