• आइतबार, भाद्र २८ २०८३

व्यासमा लघुउद्यमीलाई सीपसँगै प्रविधि हस्तान्तरण


शुक्रबार, असार २४ २०७९
1.1K
Shares

व्यास नगरपालिकाले स्थानीय उद्यमी एवं कृषकलाई प्रविधि हस्तान्तरण गरेको छ ।

उद्यमीको मागबमोजिम चाउमिन मेसिन, चाउमिन मिक्स्चर, दुना टपरी मेसिन, हाते ट्रयाक्टर, सिलाइ मेसिन सहयोग गरिएको व्यास नगरपालिकाका उद्योग पर्यटन शाखा प्रमुख मेघनाथ आचार्यले जानकारी दिए । नगरपालिकाको ८० प्रतिशत अनुदान र समूहको २० प्रतिशत लागत साझेदारीमा प्रविधि हस्तान्तरण गरिएको आचार्यले बताए । 

वडा नं १ स्थित थानीमाई लघुउद्यमी समूहलाई रु एक लाख ३५ हजार मूल्य बराबरको चाउमिन मेसिन र रु एक लाख २५ हजार मूल्य बराबरको चाउमिन मिक्स्चर सहयोग गरिएको छ । वडा नं ८ स्थित कालिका दुना टपरी लघु उद्यमी समूहलाई रु एक लाख २५ हजार बराबरको दुना टपरी मेसिन सहयोग गरिएको छ ।

वडा नं १० स्थित मिलिजुली लघुउद्यमी समूहलाई रु ५८ हजार बराबरको हाते ट्याक्टर सहयोग गरिएको छ । वडा नं १० स्थित साझा लघुउद्यमी समूहलाई  ७७ हजार बराबरको कुखुरा अटो ड्रिकर सहयोग गरिएको छ ।

वडा नं १० स्थित उद्यमशीलता लघुउद्यमी समूहलाई रु ६० हजार बराबरको कार वासर हेड प्रेसर वासर सहयोग गरिएको छ । वडा नं १० कै कालीडाँडा होमस्टे लघुउद्यमी समूहलाई फिल्टर, डिस्पेन्सर, वडा नं ६ र ८ को सिर्जनशील लघुउद्यमी समूहलाई चापकटर र दाना बनाउने मेसिन सहयोग गरिएको छ । वडा नं ६ स्थित सुन्दरदेवी लघुउद्यमी समूहलाई सिलाइ मेसिन र मिलिजुली लघुउद्यमी समूहलाई सिलाइ मेसिन सहयोग गरिएको छ । 

गरिबी निवारणका लागि लघुउद्यम विकास (मेड्पा) कार्यक्रममार्फत नयाँ उद्यमी सिर्जना गर्दै सीप सिकाएर उनीहरूलाई प्रविधि हस्तान्तरण गरिएको आचार्यले बताए । नगरपालिकाले गत वर्ष वडा नं ६, ७, ८ र ९ तथा चालु आर्थिक वर्षमा वडा नं १, १० र १२ मा यो कार्यक्रम लागू गरेको थियो । 

‘लघु उद्यम विकास कार्यक्रममार्फत उद्यमीलाई विभिन्न तालिम प्रदान गरेपछि प्रविधि हस्तान्तरण गरेका हौँ’, आचार्यले भने। चालु आर्थिक वर्षमा ९० उद्यमी सिर्जना गर्नुपर्ने लक्ष्य रहे पनि १०४ उद्यमी सिर्जना भएको उनले बताए । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार