• आइतबार, भाद्र २८ २०८३

चितवनमा हैजाको उच्च जोखिम, सावधानी अपनाउन आग्रह


बिहिबार, असार २३ २०७९
660
Shares

हेटौँडामा हैजाको सङ्क्रमण देखिएपछि चितवन पनि उच्च जोखिममा परेको छ।

दुवै ठाउँका मान्छेहरु दैनिक ओहोरदोहोर हुने र ​ हेटौँडाका अधिकांश बिरामी उपचारका लागि चितवन आउने हुनाले पनि उच्च जोखिम देखिएकाे हाे। 

भरतपुरको सहरी क्षेत्रमा बर्सातको समयमा डुबान हुने हुँदा यहाँको पानीमा जुनसुकै बेला प्रदूषण हुनसक्ने उच्च जोखिम छ। यससँगै यहाँका सरोकारवालाले हैजाबाट बच्न खानपानमा विशेष ध्यान दिन आग्रह गरेका छन्।

भरतपुर अस्पतालका फिजिसियन डा‍‍. प्रमोद पौडेल मुख्यरुपमा शुद्ध पानी पिउन सुझाव दिन्छन्। 

उनकाे भनाइमा पानी निर्मलीकरण गरेर पिएमा सङ्क्रमण फैलिन पाउँदैन। शौचालय गएर फर्किएपछि साबुनपानीले राम्रोसँग हात धुन तथा फलफूल सफा पानीले राम्रोसँग धोएर खान उनकाे सुझाव छ। 

लगातार पातलो चौलानीपानी जस्तो दिसा हुने, पेट दुख्ने, कसैकसैलाई ज्वरो आउने, जल वियोजन हुने, रक्तचाप घट्ने जस्ता लक्षण देखिएमा हैजा हुनसक्ने चिकित्सक बताउँछन्।

यससँगै मिर्गौलामा असर गर्ने र मृत्युसमेत हुनसक्ने भएकाले रोगको लक्षण देखिएमा तत्काल चिकित्सक कहाँ जान पौडेलको सुझाव छ।

सङ्क्रमण पानीमार्फत फैलिन नलिन भरतपुर खानेपानी व्यवस्थापन बोर्डले विशेष ध्यान दिएको कार्यकारी निर्देशक प्रजापति दाहाल बताउँछन्। 

दुई दिनअघि जिल्ला सरसफाइ तथा स्वच्छता समिति चितवनको बैठकले पानीका स्रोत र वितरणमा विशेष ख्याल गर्ने निर्णय गरेको थियो। भरतपुर महानगरमा ९२ प्रतिशतले सरकारी तवरबाट वितरण गरिएको पानी उपभोग गर्दै आएका छन्।

जिल्लामा छिमेकी जिल्लाबाट उपचारका लागि बिरामी आउने भएकाले पनि सङ्क्रमणको जोखिम उच्च रहेको चिकित्सकको भनाइ छ ।
 
प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जोखिम रहने भएकाले उच्च सावधानी अपनाउन सरोकारवाला निकायलाई आग्रह गरिएको बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार