काठमाण्डाै । योगदानमा आधारित सामाजिक सुरक्षा कोषले स्वचालित विद्युतीय प्रणालीमा आधारित स्वास्थ्य सेवा सुरू गरेको छ। कोषले विभिन्न २६ वटा स्वास्थ्य संस्थाबाट यस्तो सेवा सुरू गरेको हो।
हालसम्म कोषले एक सय २६ स्वास्थ्य संस्थासँग सम्झौता गरिसकेको कोषका कार्यकारी निर्देशक कपिलमणी ज्ञवालीले जानकारी दिए। तीमध्ये २६ वटा स्वास्थ्य संस्थाबाट विद्युतीय प्रणालीमा आधारित स्वास्थ्य सेवा सुरू भएको हो।
योसँगै अब यी २६ अस्पतालबाट औषधि उपचार, स्वास्थ्य तथा मातृत्व र दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गतका स्वास्थ्य सेवाहरू सहजै लिन सकिन्छ।
यी अस्पतालबाट योगदानकर्ताले औषधि उपचार,स्वास्थ्य तथा मातृत्व सुरक्षाबापत सुविधा लिँदा योगदानकर्ताले लागेको खर्चको २० प्रतिशत तिरे पुग्छ। ८० प्रतिशत रकम कोषले अस्पताललाई भुक्तानी गर्नेछ। दुर्घटनामा परी उपचार गराउँदा एक रुपैयाँ पनि तिर्नुपर्दैन। कोषले नै सम्बन्धित स्वास्थ्य संस्थालाई भुक्तानी गर्छ। यसका लागि योगदानकर्ताले आफ्नो सामाजिक सुरक्षा परिचयपत्र भने देखाउनुपर्ने हुन्छ।
यो सुविधाबाट योगदानकर्तालाई निकै सहज हुने विश्वास कोषको छ। कोषका कार्यकारी निर्देशक कपिलमणी ज्ञवालीले अब योगदानकर्तालाई झन्झट नहुने र विभेदरहीत सेवा पाउने बताए।
‘व्यवस्था भएअनुसार योगदानकर्ताले पाउने स्वास्थ्य सेवाको रकम कोषले अस्पतालको खातामा जम्मा गरिदिन्छ। योगदानकर्ता श्रमिकहरूले अन्य बिरामी सरह विभेदरहित सेवा पाउनुहुन्छ,’ ज्ञवालीले भने।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले श्रमिकको उचित मूल्यांकन हुने गरी सेवा उपलब्ध गराउने बताए।
‘श्रमिकहरूलाई सामाजिक सुरक्षा कोष हाम्रो हो भन्ने अनुभूति दिलाउने काम सरकारले गर्छ। सामाजिक सुरक्षा कोषले सधैँ मजदुरको हितमा काम गर्छ,’ उनले भने। कोषले दिने सेवा प्रवाहमा स्वास्थ्य संस्थाहरूसँग मिलेर काम गर्दा थप सहज हुने समेत विश्वास उनले व्यक्त गरे।
यी हुन् सूचना प्रविधि प्रणाली मार्फत कोषसँग आबद्ध भई स्वास्थ्य सुविधा प्रदान गर्ने २६ अस्पतालहरूः समाचार साभार : सेतोपाटी
