गोरखा । जिल्ला स्वास्थ्य कार्यालय गोरखा र जिल्लामा क्रियाशील पत्रकारहरु बीच सर्ने तथा नसर्ने रोग सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम आइतबार सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय गोरखाको आयोजनामा गोरखा सदरमुकाममा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा कार्यालयका सूचना अधिकारी नवराज खड्काले डेंगु, स्व्रmबटाइपस, कालाजार, क्यान्सर लगायतका रोगहरुका बारेमा जानकारी गराएका थिए । पछिल्लो समयमा पृथ्वीको तापमान बृद्धि हुदै गएको र मानिसहरुको आनीबानी र खानपानका कारण बढी संक्रामक रोगहरु देखा पर्न थालेको उनले बताए ।
कार्यालयले संक्रामक रोगहरु फैलिन नदिनका लागि विभिन्न सचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको जनाएको छ ।
यस्तै, गोरखामा अघिल्लो वर्ष २४ जनामा र यस वर्ष दुई जनामा डेंगु रोग देखा परेको खड्काले बताए । पोथी लामखुट्टेबाट यो रोग सर्ने गरेको उनले बताए । जिल्लामा अघिल्लो वर्ष १९ जनामा र यस वर्ष २ जनामा स्व्रmबटाइपस रोगका बिरामी भेटिएको उनले बताए ।
गोरखाको आरुघाट, शहीदलखन गाउँपालिका यो रोग देखा परेको खड्काले बताए । स्व्रmबटाइफस एक प्रकार किर्नाको टोकाईबाट लाग्ने रोग हो । गोरखामा कालाजारको पनि एक जना बिरामी देखिएको कार्यालयले जनाएको छ । सो रोगबाट एक जनामा महिलामा संक्रमण भएको पाएको खड्काले जानकारी दिए ।
त्यस्तै, गोरखासहित संसारभर क्यान्सर रोग मुख्य समस्याको रुपमा देखा परेको उनले बताए । मानिसहरुको आनीबानी, खानपान लगायतका कारण क्यान्सर हुनेको क्रम दिनप्रतिदिन बढिरहेको उनले जानकारी दिए ।
कार्यक्रममा स्वास्थ्य कार्यालय गोरखाका प्रमुख नरजंग ठकुरी, नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरी सापकोटाले मन्तव्य राखेका थिए ।