
गोरखा । गोरखा नगरपालिकालाई यस बर्षपनि पूर्ण खोप सुनिश्तिता घोषणा गरिएको छ । २०७४ साल असार १९ गते नगरलाई पूर्ण खोप सुनिश्चितता घोषणा गरेपछि हरेक बर्ष नगर क्षेत्रमा रहेका सबै बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चितता गर्न यो घोषणा गर्ने गरिएको स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मीले बताए ।



गत आर्थिक बर्ष २०७७/७८ को खोप कार्यक्रमलाई आधार माने यो बर्ष नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको उनको भनाई छ । गत बर्ष नगरक्षेत्रमा रहेका १५ महिनामुनीका ८ सय ९० जनाले फाइफाइटसहित १२ वटा खोप पूरा गरेको १४ वटै वडामा गरिएको घरधुरी सर्वेक्षणबाट प्राप्त तथ्यांकमा छ ।

घरधुरी सर्वेक्षणमा कुनै पनि बालबालिका पूर्ण खोपबाट बञ्चित नदेखिएको गोरखा नगरपालिकाका जनस्वास्थ्य निरिक्षक निश्चल अर्यालले बताए । गोरखा नगरपालिकाले गोरखा अस्पतालसहित १४ वटै वडामा गरेर २९ केन्द्रबाट खोप अभियान सञ्चालन गरिरहेको अर्यालको भनाई छ ।



नगरप्रमुख कृष्ण बहादुर राना मगरको अध्यक्षतामा भएको घोषणा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मोहन थापा मगरको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथी थापासहित नगरप्रमुख राना, उपप्रमुख मसली माया थोकर, प्रमुख प्रशासकीय अधिकृत ज्ञाननाथ ढकाल, वडाध्यक्षहरु, कर्मचारी, नागरिक समाजका प्रतिनिधी, पत्रकार लगायतले पूर्ण खोप सुनिश्चितताका लागि प्रतिवद्धता पत्रमा हस्ताक्षर समेत गरेका छन् ।