
गोरखा । गोरखा नगरपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको प्राविधिक सहयोग तथा नागरिक समाज सञ्चार नेटवर्कको सहजीकरणमा भएको नगरस्तरीय सार्वजनिक सुनुवाई कार्यक्रममा मेयर कृष्ण बहादुर राना मगरको अध्यक्षता रहेको थियो ।

कार्यक्रममा सहजीकरण गर्ने संस्थाले नगरक्षेत्रमा गरिएको बिभिन्न सर्भे तथा अध्ययनको प्रतिवेदन प्रस्तुत गरेको थियो । सो संस्थाले नगरको सेवा प्रवाहको अवस्थाका बारे २ सयजना भन्दा बढी सेवाग्राहीमा नमुना सर्भे र अध्ययन गरेको थियो । जसबाट नागरिक प्रतिवेदन, बहिर्गमन प्रतिवेदन र गुनासा, समस्या र सुझाव संकलन गरिएको बताइएको छ ।
कार्यक्रममा गुनासो राख्दै नेत्रहिन संघ गोरखाका अध्यक्ष पवन बस्नेतले बजार क्षेत्रको फुटपाथ ब्यवस्थित नहुदा नागरिकलाई परेको अफ्ट्यारोलाई नगरपालिकाले नजरअन्दाज गरेको बताएका छन् ।

फुटपाथमा जथाभावी पार्किङ गर्ने र ब्यवसायिले सामान राख्ने गरेकाले अपांगता भएका ब्यक्तिहरु हिड्नै मुस्किल रहेको र दुर्घटना समेत निम्त्याउने गरेको भन्दै तत्काल ध्यान दिन आग्रह गरे । त्यस्तै गोरखा नगरपालिका ६ कि पूजा रोकाले ढुंगेधाराहरुको संरक्षण गर्न माग गरेकी छिन् । नगरक्षेत्रको फोहोर संकलनलाई ब्यवस्थित बनाउनुपर्ने भन्दै उनले बनेका संरचनाको संरक्षणमा स्थानीय सरकारले ध्यान दिनुपर्ने बताइन् ।

गोरखा नगरपालिका ६ कै राममाया श्रेष्ठले पृथ्वीनारायण साना सहरी आयोजनाले बर्खायाममा समेत नियमित पानी दिन नसकेको दुखेसो गरिन् । पानी आएपनि धमिलो आउने गरेको गुनासो गर्दै उनले तत्काल समन्वय गरी समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरिन् ।
त्यस्तै रामबाबु अर्यालले ठेक्काबाट हुने र समितिबाट हुने विकास योजनाका काममा कार्यालयले भेदभाव गर्ने गरेको आरोप लगाए । ठेक्काबाट भएको कामले तत्काल भुक्तानी पाउने तर समितिको भुक्तानी प्रकृया झण्झटिलो रहेको उनको आरोप छ ।
वडा नम्बर ७ की मैना रोकाले पद अनुसारको जिम्मेवारी निर्वाहमा सबै सचेत हुनुपर्ने तर्क गरिन् । पहुँच नपुग्दा विपन्नले सुत्केरी पोषण भत्ता समेत नपाएको गुनासो चन्द्रविर विश्वकर्माको छ ।

कार्यक्रममा उठेका साथै सर्भे र अध्ययनबाट प्राप्त गुनासाहरुको नगरप्रमुख कृष्ण बहादुर राना, उपप्रमुख मसलीमाया थोकर र प्रमुख प्रशासकीय अधिकृत ज्ञाननाथ ढकालले सम्बोधन गर्दै समस्या समाधानका लागि पहलकदमी लिने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
ब्यवस्थित नगर बनाउन आफु दृढ रहेको बताउदै नगरप्रमुख रानाले नगरपालिकाले गर्ने हरेक निर्णय कार्यान्वयन गराउने दायित्व सबैको भएको बताए । जनताका अपेक्षा र आवस्यकता अत्याधिक रहेको तर स्रोत साधान सिमित भएकाले तत्काल सम्बोधन गर्न कठिन अवस्था रहेको समेत उनले बताए ।
कार्यक्रममा बोल्दै नगरउपप्रमुख थोकरले पारदर्शिता र जवाफदेहिताका सवालमा नगरपालिका प्रतिवद्ध रहेको बताइन् । उनले नगरले दिने हरेक सेवालाई सहज र सरल बनाउन पहल गर्ने समेत प्रतिवद्धता ब्यक्त गरिन् ।
शासन गर्ने भनेको नियन्त्रण गर्ने नभई सेवा दिने रहेको बताउदै प्रमुख प्रशासकीय अधिकृत ढकालले नगरवासीको करबाट सुविधा लिएपछि नगरवासीको सेवामा पनि इमान्दार बन्न कर्मचारीलाई निर्देशन दिए । कार्यक्रमको सहजीकरण पत्रकार मोहसिन अलि मियाँले गरेका थिए



।