
प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही च्यूरा खाएर मनाइँदै छ ।
यस वर्ष ‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने नाराका साथ मनाइँदैछ।
आजका दिन असारे भाकामा गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ। युवा–युवती, रोपाहारले खेतमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन पनि लिने गर्छन्। असारमा एक पटक हिलोमा पस्नुपर्ने मान्यता नेपाली समाजमा रहेको छ।
खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेकाले पनि आज दहीचिउरा खाई असार १५ लाई सांस्कृतिक पर्वका रूपमा मनाउने गरेका छन्। दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्द्धक मानिन्छ।
आज पोखरा पर्यटन परिषद्को आयोजनामा हुँदै आएको रोपाइँ महोत्सव पोखरा महानगर–२५ हेम्जामा हुँदैछ।
यस्तै, धान दिवसका अवसरमा कर्णाली प्रदेश सरकारले आज बुधबार सार्वजनिक बिदा दिएको छ।
२०६२ सालदेखि यो दिनलाई सरकारले धान दिवसका रूपमा मनाउन थालेको हो।