
गोरखा । विभिन्न स्थानमा प्राकृतिक रुपमा उम्रेका ६ हजार ३ सय २४ गाँजाका बोट प्रहरीले फडानी गरेको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखा एबम मातहतका प्रहरी इकाईबाट खटिएका प्रहरीको टोलीले स्थानीय क्लब, आमा समूह र अन्य सरोकारवाला निकायहरुसंग समन्वय गरी गाँजाको बोट नष्ट गरिएको कार्यालयले जनाएको छ ।

गोरखा नगरपालिकाको (गैरुकुँवा,नारेश्वर) , पालुङटार नगरपालिकाको देउराली , शहिदलखन गाउपालिको (रानागाउँ, राईनस, नामजुङ), गण्डकी गाउपालिकाको चिसापानी, अजिरकोट गाउपालिकाको (घट्टेखोला र राम्चे), सिरानचोक गाउपालिकाका (कालीमाटी र भालुपहाड), धार्चे गाउपालिकाको आरुघाट गाउपालिकाको थुमी, चुमनुब्री गाउपालिकाको कोटगाउँ , बारपाक गाउपालिकाको (डाँडागाउँ, धुन्चोक ) गरी १८ स्थानहरुमा प्राकृतिक रुपमा उम्रेका ६ हजार ३ सय २४ गाँजाको बोट फडानी गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक सोमदास ढकालले जानकारी दिए ।
हाल सम्म २३ हजार ६ सय ९४ गाँजाका बोटहरु फडानी गरेको प्रहरी निरिक्षक ढकालले जानकारी दिए । लागू औषध नियन्त्रण अभियान अन्तरर्गत मनसुन परिवर्तन भए संगै जिल्लाको विभिन्न स्थानमा प्राकृतिक रुपमा उम्रीएका गाँजाको बोटलाई मानिसहरुले संरक्षण गरी लागू औषधको रुपमा प्रयोग गर्ने, बेचबिखन गर्ने जस्ता कार्य गर्न सक्ने भन्दै प्रहरीले गाँजाको बोट नष्ट गरेको उनले बताए । प्रहरीले गाँजा फडानी गर्ने कार्यलाई अभियानकै रुपमा सञ्चालन गरिरहेको उनले बताए ।


