• मंगलबार, साउन १२ २०८३

५–११ वर्षका बालबालिकालाई आयो खोप


सोमबार, असार ६ २०७९
645
Shares

अब नेपालका पाँचदेखि एघार वर्षमुनिका बालबालिकाले पनि कोभिड–१९ विरुद्धको खोप लगाउन पाउने भएका छन् ।

आइतबार अमेरिकाबाट आइपुगेको कोभ्याक्स सुविधाअन्तर्गत पहिलो लटको २२ लाख ३ हजार २ सय मात्रा खोप वितरणका लागि सातै प्रदेशस्थित स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा पठाइएको छ ।

काठमाडौंस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्दै ‘५–११ वर्षका बालबालिकालाई लक्षित गरी प्रदान गरिएका यी खोप हालसम्म अमेरिकाले नेपाललाई प्रदान गरेको फाइजर खोपका २२ लाख ६० हजार र जोन्सन एन्ड जोन्सनका १५ लाख मात्रामा थपिने’ जनाएको छ ।

स्वास्थ्य सेवा विभागले पहिलो चरणमा २७ वटा जिल्लामा पहिलो मात्रा खोप लगाउन तयारी थालेको छ । जसअनुसार उपत्यकासहित काभ्रेका लागि ३ लाख ३१ हजार २ सय, वाग्मती प्रदेशका चितवन, मकवानपुर र सिन्धुलीका लागि १ लाख ४२ हजार ४ सय, प्रदेश १ का झापा, मोरङ, सुनसरी र इलामका लागि ४ लाख ८ हजार, मधेसका सप्तरी, सिरहा, धनुषा, महोत्तरी र पर्साका लागि ५ लाख ४२ हजार ४ सय डोज खोप पठाइएको छ ।

त्यस्तै, गण्डकीका कास्की र नवलपरासी पूर्वका लागि १ लाख ८ सय, लुम्बिनीका नवलपरासी पश्चिम, रूपन्देही, दाङ, बाँके र बर्दियाका लागि ३ लाख ९८ हजार ४ सय, कर्णालीको सुर्खेतका लागि ५२ हजार ८ सय र सुदूरपश्चिमका कैलाली, कञ्चनपुर र डडेलधुराका लागि १ लाख ८७ हजार २ सय डोज पठाइएको छ ।

प्रदेश कार्यालयले जिल्लामा पठाएपछि सम्बन्धित स्वास्थ्य कार्यालयले खोप केन्द्र तोक्ने विभागको कोल्डचेन तथा भ्याक्सिन वितरण शाखा प्रमुख बडेबाबु थापाले बताए । ‘हामीले असार ९ देखि वितरण गर्ने तयारीअनुसार काम थालेका छौं,’ उनले भने, ‘पहिलो डोज लगाउनेले दोस्रो मात्रा ३ साताभित्र लगाउनुपर्छ । यसका लागि अर्को खोप १० देखि १४ दिनभित्र यति नै मात्रामा ल्याउने योजना छ ।’

दोस्रो चरणमा बाँकी ५० वटा जिल्लामा पहिलो मात्रा भदौ ५ देखि ११ गतेसम्म र सोही समूहलाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ सम्म लगाउने तयारी सरकारको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार