
युवा तथा खेलकूदमन्त्रीका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले खेल क्षेत्रको पूर्वाधार निर्माणका लागि आगामी आर्थिक वर्ष १७१ पालिकामा बजेट जाने व्यवस्था गरेको बताएका छन्।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले एक स्थानीय तह एक खेल पूर्वाधार निर्माण गर्ने सरकारको नीतिअनुसार विगतमा निर्माणाधीन खेल पूर्वाधारलाई निरन्तरता दिँदै आगामी आर्थिक वर्षमा १७१ वटा पालिकामा बजेट जाने प्रस्ताव गरेको बताए।
मन्त्री पौडेलले खेलाडीहरुको संरक्षण र विकासका लागि यस आर्थिक वर्षमा खेलकुद बीमाको अवधारणाको विकास गरिएको, दुर्घटनामा परेको खेलाडीहरुको उपचार गर्न चिकित्सा केन्द्रलाई व्यवस्थित गर्न बजेटको व्यवस्था गरिएको बताए।
उनले खेलाडीलाई प्रोत्साहन गर्न यसपटक खेलाडी जीवन बीमा, खेलाडी तथा प्रशिक्षण स्वास्थ्य बीमा, खेलाडी प्रोत्साहन पुरस्कार, ओलम्पिक खेलाडी भत्ता लगायतका विषयमा बजेट व्यवस्था गरेको बताए।
युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज वैदेशिक भ्रमणमा रहनुभएकाले उनको सट्टामा शिक्षामन्त्री पौडेलले खेलकुद क्षेत्रको विकास विद्यालयमा तहदेखि नै हुने भएकाले एक विद्यालयमा एक खेलकुदको विकास गर्ने बताएका हुन्।


