• आइतबार, भाद्र २८ २०८३

नेपालले भुटानलाई ५० रनले हरायो


शुक्रबार, असार ३ २०७९
1.3K
Shares

एसीसी महिला टी–२० च्याम्पियनसिपअन्तर्गत शुक्रबार नेपालले भुटानलाई ५० रनले हराएको छ ।

मलेसियाको बांगीस्थित यूकेएम-वाईएसडी क्रिकेट ओभलमा पहिले टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९४ रन बनाएको थियो ।

नेपालका लागि काजल श्रेष्ठले सर्वाधिक २६ रन बनाएकी थिइन् । त्यस्तै कप्तान रुबिना क्षेत्रीले २१ रन बनाउँदा इन्दु बर्माले २० रन बनाइन् ।

अन्य ब्याट्सवुमेनले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । भुटानका लागि सोनामले सर्वाधिक ४ विकेट लिइन् । उनले ४ ओभरमा १ मेडन राख्दै १३ रन खर्चिएकी थिइन् ।

त्यस्तै अन्जु गुरुङ र टासी चेकीले १/१ विकेट लिए । ९५ रनको लक्ष्य पाएको भुटान भने ४४ रनमै समेटियो । भुटान १७.५ ओभरमै अलआउट भएको हो । छिरिङ जाङ्मोबाहेक भुटानका लागि कसैले पनि दोहोरो अंकमा रन बनाउन सकेनन् ।

छिरिङले २८ बलमा १६ रन बनाएकी थिइन् । नेपालका लागि सबनम राईले किफायती बलिङ गर्दै सर्वाधिक ४ विकेट लिइन् । २.५ ओभर बलिङ गरेकी उनले ६ रन मात्र खर्चिएकी थिइन् । त्यस्तै कविता कुँवर र सीता राना मगरले २/२ विकेट लिए ।

त्यस्तै अस्मिना कर्मचार्य र इन्दु बर्माले १/१ विकेट लिए । जारी प्रतियोगिताको फाइनल पुग्ने दुई टिम एसिया कपका लागि छनोट हुनेछन् । नेपाली टिमले अब १८ जुनमा कुवेत, २० जुनमा बहराइन र २० मा हङकङसँग खेल्ने तालिका रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार