
गोरखा । गोरखाको भीमसेनथापा गाउँपालिका–८ बोर्लाङको चण्डीथोकमा भीमसेन थापा स्मृति पार्क निर्माण सुरु भएको छ ।
थापा परिवारले भीमसेन थापा स्मारक ट्रष्टको नाममा निशुल्क उपलब्ध गराएको १ रोपनी ६ आना जग्गामा पार्क निर्माण शुरु गरिएको हो । राष्ट्रिय विभूति थापाको जन्मस्थानलाई ऐतिहासिक स्थलका र पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न शालिक स्थापना गरी पार्क निर्माण कार्य अघि बढाइएको पूर्व वडा अध्यक्ष बासु थापाले बताए ।


हालसम्म प्रवेशद्धार निर्माण र थापाको शालिक राख्ने काम सम्पन्न भइसकेको छ । कोटकालीसम्मको एक किलोमिटर पदमार्गमा सिढी लगाउने काम पनि सम्पन्न भइसकेको थापाले बताए । उनका अनुसार पार्क निर्माणका लागी चालु आर्थिक बर्ष वडा कार्यालयले १५ लाख रकम विनियोजन गरेको छ ।
आफै वडाध्यक्ष हुदाँ पार्क निर्माण गर्न भनेर रकम छुट्याएको र ‘त्यही रकमबाट अहिले काम भइरहेको उनले बताए । त्यस्तै, भीमसेन थापा पार्कका व्यवस्थित र फराकिलो बनाउन थप सात रोपनी क्षेत्रफल जग्गा समेटेर डिपिआर तयार भइसकेको छ ।


पार्कभित्रको भित्तामा नेपालको ठूला नक्सा कुद्ने, राष्टिूय विभूतिहरुको शालिक राख्ने, बालबालिकाहरुका लागि बाल उद्यान निर्माण गर्ने साथै पार्क भित्र कुर्सीहरु राख्ने र मन्दिर निर्माण गर्ने गरी डिपिआर तयार भएको उनले बताए । डिपिआरको योजना अनुसार पार्क निर्माणका लागी करिव दुई करोड रकम आवश्यक पर्ने उनले बताए ।
गाउँपालिका, प्रदेश र संघसँग रकम मागेर पार्क निर्माणको कामलाई अघि बढाउने योजना रहेको उनले बताए । भीमसेन थापाको जन्मस्थल लगायतका ऐतिहासिक संरचनाहरुको संरक्षणसँगै पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले पार्क निर्माण गर्न लागिएको उनको भनाइ छ । पार्क क्षेत्रमा निर्माण भएको थापाको शालिक साउन ९ गते थापाको जन्मदिनको अवसर पारेर अनावरण गर्ने कार्यक्रम रहेको बताइएको छ ।

