नेपालगञ्ज ः लकडाउन गरिएको पाचौं दिन आज नेपालगञ्जमा खाद्यान्न वितरण गरिने भएको छ ।
लकडाउनका समयमा श्रमजिवी मजदुर र असहायको दैनिक जनजीवन कष्टकर बनेको भन्दै मुस्लिम समाजले आज नेपालगञ्जमा खाद्यान्न वितरण गर्न लागेको मुस्लिम अगुवा मेराज अहमद हलुवाईले जानकारी दिए ।
‘अहिले काम पूर्ण रुपमा बन्द छ, बजार पनि नखुल्दा दैनिक ज्यालादारीको दैनिकी समस्यामा परेको छ’ हलवाईले सिभिलखबरलाई भने ‘नेपालगञ्जमा त्यस्ता मजदुर र असहायको तथ्यांक संकलन भइसकेको छ, आज घरघरमा गएर खाद्यान्न बाड्ने योजनामा छौ ।’
मुस्लिम समुदायका २४ जनाको सहयोगमा सबै धर्मका ७ सय परिवारलाई चामल १० केजी, नुन १ केजी, दाल १ केजी, साबुन १ पीस, चिनी एक केजी र खाने तेल ५०० ग्रामका दरले वितरण गर्न लागिएको उनले बताए ।
पहिलो चरणमा ७ सय परिवारलाई वितरण गरिने र आवस्यकता अनुसार आगामी दिनमा समेत राहतको प्याकेज ल्याउने योजना मुस्लिम समाजले बताएको हलवाईले जानकारी दिए ।