• आइतबार, भाद्र २८ २०८३

बिजुलीको तारमा दिनभर मान्छे बसिदिँदा १ करोड घाटा


आइतबार, जेष्ठ २९ २०७९
1.4K
Shares

नुवाकोटको त्रिशूली ‘थ्रि ए’को प्रसारण लाइनमा एक पुरूष झुन्डिएपछि दिनभर आयोजना बन्द गरिएको छ। 

विद्युत उत्पादन बन्द गर्नुपर्दा एक करोड रूपैयाँ बढीको क्षति पुगेको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिए।

ककनी गाउँपालिका-७ स्थित बिजुलीको प्रसारण लाइनमा बेलकोटगढी नगरपालिका-१३ घलेगाउँ बस्ने ४४ वर्षीय माइला विक झुन्डिएका छन्। उनी बिहान पोलमा झुन्डिएपछि स्थानीय प्रशासनले बिजुली बन्द गर्न अनुरोध गरेको थियो। 

‘६५ मेगावाटको आयोजनामा बिजुली बन्द नगरेको भए करेन्ट लागेर मर्थ्यो। बन्द नगरी हुन्न थियो,’ उनले भने।

यसरी दिनभर बन्द गर्दा नेपालको बिजुली प्रणालीको व्यवस्थापन गर्न भारतबाट बिजुली किनिएको उनले बताए। 

‘कतै हामीले भारतबाट आयात गरेर चलाइराखेका छौं। कतै औद्योगिक लोडहरू घटाएर चलाउन लगाएका छौं,’ उनले भने, ‘अवस्था हेरेर मगाइरहेका छौं। आठ घन्टाको हाराहारीमा बन्द भइसक्यो होला।’

तत्कालै ती व्यक्तिको उद्धार नगरिएको भए अर्को एक करोड रुपैयाँ बराबरको पनि क्षति पुग्ने उनले बताए। 

‘यत्रो ठूलो पावर हाउस बन्द हुँदा त क्षति पुगिहाल्छ। अहिलेसम्ममा एक करोडको हाराहारीमा क्षति भइसकेको छ,’ उनले भने, ‘अझै बन्द भए अर्को करोड पनि क्षति हुन्छ।’

माइला बिहान १० बजेदेखि सोही प्रसारण लाइनमा झुन्डिएका थिए। उनी तल झर्न मानिरहेका थिएनन्।

प्रहरीका अनुसार विकको मानसिक सन्तुलन गुमेको छ। जसकारण पनि उनको उद्धारमा कठिनाइ भइरहेको थियो। 

माइला झुन्डिएको करिब ९ घन्टापछि नेपाली सेनाले उनको उद्धार गरेको थियो।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नुवाकोटको विकको उद्धार गर्न नेपाली सेनासँग सहयोग मागेकी थिइन्। 

उनको उद्धार गर्न सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक र नेपाल प्रहरीको प्रहरी निरीक्षकसहितको टोली पनि घटनास्थलमा पुगेको थियो। 

उद्धारपश्चात उनलाई पाटन मानसिक अस्पताल लगिने भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार