तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्डमा सवारी राेकेर भित्ता काट्न थालिएकाे छ । आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिक सडक भासिएपछि डाेजर प्रयाेग गरेर अहिले भित्ता काट्न सुरु भएकाे प्रहरी चाैकी आँबुखैरेनीका बासु थापाले जानकारी दिए ।



भित्ता काट्न काम सुरु भएपनि हरेक एक- एक घण्टाकाे अन्तरमा साना सवारीलाई भने पास गराइएकाे थापाले सिभिलखबरलाई बताए ।
सडक भासिएको ठाउँबाट हरेक एक घण्टाकाे अन्तरमा माइक्रो, साना कार, मोटरसाइकल मात्रै वारपार गराइएको उनले बताए ।
सडक भासिएको ठाउँमा सडक डिभिजन कार्यालयले शुक्रबारदेखि नै भित्ता काट्न थालेको थियाे । ठूला सवारी साधन सञ्चालन गर्दा जोखिम हुने भएकाले केही दिन ठूला सवारी साधन सञ्चालन गर्न नसकिने सडक डिभिजन कार्यालयले जनाएको छ ।



जिल्ला प्रशासन कार्यालयले उक्त खण्डमा शुक्रबार राति ७ बजेदेखि बिहान ६ बजेसम्म अर्को सूचना नभएसम्मका लागि यातायात सञ्चालन पूर्णरुपमा बन्द गरेको छ । रातिको समयमा जोखिम हुने भएकाले यातायात सञ्चालनमा पूर्ण रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले बताए ।
सडक भासिएर एउटा कार र एउटा मोटरसाइकल खस्दा दुई जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा हेटौँडाका ३५ वर्षीय हेमबहादुर भुजेल र गोरखा घर भई आँबुखैरेनी–२ बस्ने ३३ वर्षीय केशव घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

