• आइतबार, भाद्र २८ २०८३

आँबुखैरेनी नजिक सडक भासिएको ठाउँमा भेटियो दुई शव


शुक्रबार, जेष्ठ २७ २०७९
750
Shares

गाेरखा। पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरमा सडक भाँसिएकाे ठाउँमा दुई जनाकाे शव फेला परेको छ।

मर्स्याङ्दी नदी किनारामा आज बिहान शव फेला परेका हुन्। दुवैको सनाखत हुन नसकेको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक गोकर्ण नेपालले जानकारी दिए। पोखरा र चितवनबाट आएको गोताखोर टोलीले यहाँ खोजी कार्य जारी राखेका छन्।

‘मोटरसाइकल र कारको पाटपुर्जा भेटिएकाले मानवीय क्षति बढ्न सक्ने अनुमान छ,’ उनले भने। अविरल वर्षापछि गए राति करिब ३ बजेतिर यहाँ सडक भासिएको थियो।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले कार र मोटरसाइकल पहिरोमा परेको देखिएको बताए। मोटरसाइकल चालक भने सकुशल छन्।

कार भने मर्स्याङ्दी नदीमा पुगेको थियो। ‘कार पहिराले पुरिएको छ, माथिबाट हेर्दा अलिअलि मात्रै देखिएको छ। कारमा कति मान्छे थिए भन्ने खुलेको छैन,’ उनले भने। घटनास्थलमा प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार