
गोरखा । गोरखा नगरपालिका क्षेत्रमा अपांगता भएका नागरिकको अवस्था जाँचका लागि शिविर सुरु भएको छ । गोरखा नगरपालिकाको समन्वयमा आइएनएफले दुई दिने शिविर सञ्चालन गरेको हो ।

वडा नम्बर १२ को तारानगर स्वास्थ्य चौकीमा आयोजना गरिएको शिविरमा १४ वटै वडाका अपांगता भएका नागरिकहरु सहभागी गराउने योजना नगरपालिकाको रहेको बताइएको छ । वडा नम्बर १२ का वडाध्यक्ष डिलबहादुर थापा मगरको अध्यक्षतामा भएको शिविरको उद्घाटन उपमेयर मसली माया थोकर (सपना पुन) ले गरिएकी हुन् ।

बिहिबार सुरु भएको शिविरमा पोखरा स्थित हरियो खर्क अस्प्तालका बिभिन्न क्षेत्रका विशेषज्ञ चिकित्सकले स्वास्थ्य जाँचसहित उपचार गराउने छन् । शारिरिक अपांगता भएका ब्यक्तिको अवस्थाको पहिचान गरी सम्भव भएसम्म निशुल्क उपचार गराउनका लागि दुई दिने शिविर सञ्चालन गरिएको उपमेयर थोकरले बताइन् ।

आर्थिक अभावका कारण पनि समाजमा धेरै मानिसले आफुमा भएको अपांगता लुकाएर बाच्न विवश भएकाले शिविरबाट अपांगताको अवस्था चाँज गरी शल्यक्रियासम्मको निमुल्क उपचारका लागि प्रकृया अघि बढाउन शिविर फलदायी बन्ने उपमेयर थोकरको विश्वास छ ।
गरिवीका कारण उपचारबाट कोहि पनि बञ्चित नहुन भन्ने उदेश्यले नगरभित्रै शिविर गराएर उनिहरुको उपचार गराउन सुरु गरिएको उनले बताइन् ।

शिविरमा उपचार सम्भव नभएका नागरिकलाई भने पोखरा स्थित हरियो खर्क अस्प्तालमा रिफर गरेर सबै उपचार निशुल्क रुपमा प्रदान गरिने आइएनएफ संस्थाका परियोजना प्रमुख विश्णु गिरीले बताए । दुई दिन चल्ने शिविरमा अपांगताको अवस्था परिक्षण, कृतिक अंग, बैशाखी, लौरो वितरण, औषधी वितरण, परामर्श तथा रिफर सेवाहरु दिइने गिरीको भनाई छ ।
शिविरमा बरिष्ठ फिजियोथेरापिष्ट सुरेश पहारी लगायतको विशेषज्ञ टोली रहेको बताइएको छ । सो शिविरमा १४ वटै वडाबाट आउन जानका लागि नगरपालिकाले ३ र आयोजक आइएनएफले २ वटा सवारी निशुल्क सञ्चालन गरेको स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मीले बताए ।


