गोरखा । सरकारले लकडाउन घोषणा गरेको आज चौथो दिन बितेको छ । यतिबेला देश ठप्प बनेको छ ।
कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले एक हप्ताका लागि मंगलबार लकडाउन घोषणा गरेको थियो । लकडाउनका कारण दैनिक जनजिवन पूर्ण रुपमा परिवर्तन भएका छन् ।
यस्तै हरेक हप्ताको शुक्रबार मुस्लिम समुदायले जुमाअको नमाज सामुहिक रुपमा पढ्दै आएका थिए ।
तर सरकारले घोषणा गरेको लकडाउनलाई मध्यनजर गर्दै मुस्लिम समुदायले आज शुक्रबारको नमाज आ–आफ्नो घरमा पढेका छन् ।
हरेक हप्ताको शुक्रबार १ बजे मुस्लिम समुदाय आ–आफ्नो टोलको जामे मस्जिदमा भेला भएर संयुक्त रुपमा नमाज पढ्ने गर्थे ।
तर कोरोना भाइरसको जोखिमका कारण यस हप्ताको जुमाअ भने प्रभावित बनेको छ ।
‘मस्जिदमा धेरै मान्छे भेला हुदा कोरोनाको जोखिम हुन सक्छ, त्यसैले हामीले घरैमा नमाज पढ्यौ’ गोरखा नगरपालिका २ आहालेको मदरसा सैयदिना अबुबकरका प्रधानाध्यापक हाफिज साहेब मियाँले सिभिलखबरलाइ भने ‘घर बाहिर निस्कदा ज्यानलाई खतराको अवस्था भए घरैमा जुमाअको नमाज पढ्ने आदेश इश्लाम धर्ममा छ ।’
जिल्लामा करिब ३० भन्दा बढी मस्जिदमा जुमाअको नमाज पढिदै आएको थियो । तर यो हप्ता हरेक मस्जिदमा ४ देखि ५ जना मात्रै गएको बताइएको छ ।
अन्यले भने घरैमा बसेर जुमाअको नमाज पढेको मुस्लिम समुदायले बताएका छन् । जुमाअको नमाज पढ्ने बिषयमा केहि धार्मिक गुरुहरुले जोखिम मोलेर मस्जिद नजान आग्रह समेत गरेको मुस्लिम अगुवाहरु बताउछन् ।
त्यस्तै गोरखा सहित तनहुँ, लमजुङ, धादिङ, कास्की, पाल्पा, स्याङ्जा, बुटवल, काठामण्डौ, नुवाकोट, चितवन, मकवानपुर लगायत देशै भरका मुस्लिम समुदायले घरघरबाटै जुमाअको नमाज पढेको समाचार प्राप्त भएका छन् ।