• सोमबार, भाद्र २९ २०८३

युवालाई कृषि पेशामा जोड्ने बारे शहिद लखन गाउँपालिकामा छलफल


बुधबार, जेष्ठ २५ २०७९
1.3K
Shares

????????????????????????????????????

गोरखा । युवाहरुलाई कृषि पेशामा जोड्नेबारे शहिद लखन गाउँपालिकामा छलफल भएको छ । पारस्परिक जवाफदेहिता परियोजना अन्तरगत दायित्व नेपालको आयोजनामा मंगलबार गाउँपालिकाको कार्यालयमा सरोकारवालाहरुका वीच छलफल भएको हो ।

गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले युवालाई पालिकाभित्रै स्वरोजगारको अवस्था सृजना गर्नुपर्ने र यसका लागि पालिकाले सहयोग गर्नुपर्ने माग राखेका छन् ।

दिनप्रतिदिन युवाहरु विदेश पलायन हुने क्रम बढेको भन्दै उनिहरुले त्यसलाई रोक्न आधुनिक कृषि प्रणालीको विकास गर्न पालिकाले प्रष्ट कार्ययोजना ल्याउनुपर्नेमा जोड दिएका छन् । वास्तविक किासनका लागि सरकारले दिने अनुदान र सहयोगका कार्यक्रम ‘आकाशको फल आँखा तरी मर’ भन्ने सावित हुने तर्क गर्दै स्थानीय दिनेश कुमार श्रेष्ठले काम गर्न चाहाने युवा र किसानको उत्थानमा पालिकाले स्पष्ट कार्ययोजना ल्याउनुपर्ने माग गरेका छन् ।

‘ठूला ठालुले मात्रै पहुँचका भरमा अनुदान र अरु सहयोग लिने प्रवृत्ती हामीकहाँ छ’ सपना कृषि फर्मका सञ्चालक नारायण प्रसाद रेग्मीले भने ‘भुगोललाई चक्लाबन्दी बनाउने कार्यक्रमलाई अघि बढाएर पालिकाभित्रका किसानलाई आधुनिक र ब्यवसायिक उत्पादनमा प्रेरित गरोस ।’

राष्ट्रिय कृषक समुह महासंघ गोरखाका अध्यक्ष अर्मत श्रेष्ठले किसानले धेरै समस्या भोगिरहेको गुनासो गरेका छन् । समयमै बिउविजन, मल, बजार, अनुदान, सिंचाई लगायतको अभाव रहेको भन्दै उनले तत्काल विकल्प खोज्न आवस्यक रहेको बताए । साथै उनले किसानको वर्गिकरण गरी परिचयपत्र वितरण गर्न समेत माग गरेका छन् ।

पालिकासंग किसानको संख्या, अवस्था लगायतको तथ्यांक नै नभएकाले योजना बनाउन समस्या भएको भन्दै जगदिश किरण रेग्मीले तत्काल तथ्यांक संकलन गरी ब्यवस्थित गर्न माग गरेका छन् ।

सडक बाटोका कारण किसानले फलाएको उत्पादन बजारसम्म पु¥याउन समस्या भएको भरत ढकालको तर्क छ । त्यस्तै संजय रानाले किसानका लागि बिमा र घुम्ति कोषको ब्यवस्था हुनपर्ने माग गरेका छन् । किसानलाई अनुदान दिने तर प्रभावकारी अनुगमन नहुदा त्यसको प्रभावकारिता नदेखिएको रानाको तर्क छ ।

कृषिमा पढेका युवाहरुलाई जोड्न आगामी बजेटमा पालिकाले कस्तो कार्यक्रम ल्याउछ भन्दै पुरुषोत्तम अम्गाईले प्रश्न गरेका थिए । किसानको बास्तविक समस्या बुझ्न र अनुदान पाएका किसानको उत्पादनको सुनिश्चितताका लागि काम गर्नुपर्ने अम्गाईको माग थियो ।

तिनै तहका सरकारको कृषि क्षेत्रको प्रगती कागजमा मात्रै सिमित रहेको तर्क गर्दै झलक प्रसाद पौडेलले सबै किसानलाई समान तरिकाले सहयोग गर्नुपर्ने माग गरे ।

कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिदै गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरले भुगोल र सिमित स्रोत साधनका बाबजुद सोचे अनुसार कृषि क्षेत्रको विकास हुन नसकेको स्विकार गरेका छन् ।

अघिल्लो पाँच बर्षे कार्यकालमा कृषि क्षेत्रको विकास र बजारीकरण आफ्नो प्राथमिकता रहेको बताउदै थापाले किसान अनुदानको मात्रै पछि लाग्नुभन्दा पनि आफ्नो पेशालाई दिनगो बनाउन तिर लाग्नुपर्ने तर्क गरे । मल अभावको समस्या राष्ट्रिय समस्या रहेको बताउदै उनले चाहेर पनि त्यो समस्या हल गर्न पालिका असमर्थ रहेको बताए ।

निर्यातभन्दा आयातको अवस्था बढ्नुले कृषि पेशा धरासायी बनेको भन्दै अध्यक्ष थापाले किसानल सबै पाटो मिलाएर समयानुकुल खेती र लगानी गर्नुपर्नेमा जोड दिएका छन् । किसानका लागि घुम्ति कोषको स्थापनाका लापग पालिका तयार रहेको र त्यसका लागि गृहकार्य भइरहेको समेत उनले कार्यक्रममा जानकारी गराए ।

त्यस्तै कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जिवन बहादुर आले मगरले किसानमा समेत लगनशिलता, प्रतिवद्धता र इमान्दारिता हुनुपर्ने बताए । अनुदान पाए मात्रै उत्पादन गर्ने प्रवृत्ती हावी हुदा समस्या भएको उनको तर्क छ ।

‘इलाइट क्याप्चरिङ’ बाट हामी सचेत रहेको तर्क गर्दै आलेले साना ठूला सबै किसिमका किसानको विकास र उत्थानमा पालिकाले काम गरिरहेको बताए ।

कार्यक्रममा पालिकाको कृषि शाखाका प्रमुख ऋृषि रोकाले उत्पादनमा आधारित अनुदान सहयोग गर्ने तर्फ पालिका अघि बढेको जानकारी गराए ।

कार्यक्रमको सहजीकरण दायित्व नेपालका राजेश श्रेष्ठले गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार