गोरखा । एकिकरण नेपाल गोरखाले जिल्लाका १०० विद्यालयका १०१ जना शिक्षकहरुलाई साक्षरता सिप अभिवृद्धि तालिम प्रदान गरेको छ ।
रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोग र जिल्लाका ८ स्थानीय तहहरु गोरखा नगरपालिका र पालुङ्टार नगरपालिका, अजिरकोट, सिरानचोक, भिमसेन थापा, गण्डकी, शहिद लखन र बारपाक सुलिकोट गाउँपालिकाको समन्वयनमा तालिम सम्पन्न भएको हो ।
तालिम कक्षा १ मा नेपाली भाषा शिक्षणको नविनतम विधिमा केन्द्रित थियो । जेठ १६ गते देखि शुरु भएको तालिममा सहभागीहरुलाई चार समुहमा विभाजन गरि तालिम प्रदान गरिएको थियो ।
कक्षा १–३ को एकिकृत पाठ्यक्रमले नेपाली भाषा शिक्षण सिकाइ आठ तत्वमा केन्द्रित भई गर्ने अपेक्षा गरेको छ । ध्वनि सचेतिकरण, लेख्य वर्ण चिनारी, शब्द भण्डार, पठन प्रवाह, बोध, लेखाइ, श्रव्यदृश्य बोध र कार्यमुलक लगायतका नेपाली भाषा शिक्षणका आठ तत्वहरु दैनिक शिक्षण सिकाइ क्रियाकलापमा कसरी समेट्ने भन्ने बिषयमा तालिम केन्द्रित थियो ।
आठ वटै स्थानीय तहको शिक्षा शाखाका प्रतिनिधिहरुको समेत सहभागी रहेको तालिम निकै प्रभावकारी रहेको तालिमका सहभागीहरुले बताएका छन् ।
एकिकरण नेपालले रुम टु रिडसँगको साझेदारी र स्थानीय तहसँगको समन्वयमा जिल्लाका १०० मा साक्षरता कार्यक्रम संचालन गरिरहेको छ ।
कक्षा १–५ मा अध्ययनरत बालबालिकाहरुमा पढ्ने सिप र बानीको विकासमा सहयोग गर्ने उद्देश्यले साक्षरता कार्यक्रम संचालन भइरहेको जानकारी एकिकरण नेपालका कार्यकारी निर्देशक हरि देवकोटाले बताएका छन् ।