
प्रदेश नम्बर १, मधेस र बागमती प्रदेशका कतिपय स्थानमा आज र भोलि वर्षा भए पनि पश्चिमी भेगमा भने वर्षाको सम्भावना नदेखिएको मौसमविद् भट्टराईले बताए।
नेपालमा सामान्यतया मनसुन १० जुनमा प्रवेश गर्ने गर्दछ। देशको पूर्वी भेगबाट मनसुन प्रवेश गरी क्रमशः पश्चिमतर्फ विस्तार हुन्छ। जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एशियाली क्षेत्रमा मनसुनको अवधि भनिन्छ।

उक्त समयमा नेपालमा वार्षिक वर्षाको करिब ८० प्रतिशत वर्षा हुने गर्दछ। हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म पूर्व–पश्चिम फैलिएको न्यूनचापीय रेखाको प्रभाव रहेको छ।
उक्त मौसमी प्रभावले हाल प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली भई प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश तथा देशका अन्य पहाडी भूभागमा सामान्य बदली रही बाँकी भेगमा आंशिक बदली रहनेछ।
प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।


