गण्डकी प्रदेश सरकारले नोभेल कोरोना (कोभिड १९) को रोकथाम, नियन्त्रण र व्यवस्थापन गर्न बुधबार मात्रै १५ करोडको कोष स्थापन गर्यो। मन्त्रीहरुले १ महिनाको तलब सो कोषमा राख्ने घोषणा पनि गरे। यसैगरि, प्रदेशमा रहेका सबै अस्पताललाई कोरोना उपचारको लागि आवश्यक पर्ने उपकरण किन्न ५ लाख रुपैयाँ थप गर्ने निर्णय पनि भयो। यसअघि सरकारले ५ लाख पठाइसकेको पनि बताइयो।
मन्त्रिपरिषदको बैठकले कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापन गर्न आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङको संयोजकत्वमा ५ सदस्यीय समिति पनि गठन गर्यो। सो कमिटीमा आन्तरिक मामिलामन्त्री हरिबहादुर चुमान, भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेत, सामाजिक विकामन्त्री नरदेवी पुन र प्रदेशका मुख्यसचिव हरि बस्याल सदस्य रहेका छन्।
यसअघि नै प्रदेश सरकारले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा उच्चस्तरीय निर्देशक समिति गठन गरेको थियो। सो समितिले सबै कोरोना संक्रमितको उपचार खर्च प्रदेश सरकारले बेहोर्ने निर्णय मात्रै गरेन, पोखरा–२०, लेखनाथको सामुदायिक लायन्स अस्पताललाई कोरोना संक्रमितको डेडिकेटेड अस्पतालको रुपमा व्यवस्थापन गर्ने निर्णय पनि गर्यो। अझै एक कदम अगाडि बढ्दै लेखनाथ सामुदायिक लायन्स अस्पताललाई प्रादेशिक सरुवा रोग अस्पतालको रूपमा स्थापना गर्न प्रदेश सरकार समक्ष प्रस्ताव पेश गर्ने निर्णय पनि भयाे। प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ र सामाजिक विकासमन्त्री नरदेवी पुनले लेखनाथ सामुदायिक अस्पतालको निरीक्षण पनि गरे।
तर, लेखनाथ क्षेत्रमै रहेको रुपा गाउँपालिकाको क्वारेन्टिनमा रहेका एक बिरामीको मृत्युको खबर सार्वजनिक हुँदासम्म लेखनाथ सामुदायिक अस्पताललाई विशेष अस्पताल बनाउन सिन्को पनि भाँचिएको छैन।
लेखनाथ सामुदायिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रमानाथ पौडेलका अनुसार चैत १२ गतेदेखि कोरोना विशेष अस्पताल बनाउने भनिए पनि त्यसयता मन्त्रालयबाट कुनै पहल नै थालिएको छैन।
‘प्रदेश सरकारले कोरोना डेडिकेटेड अस्पताल बनाउने भनेपछि हामीले समुदायलाई राखेर छलफल ग¥यौँ, समुदाय र नजिकै रहेको विद्यालयको सुरक्षाको कुरा ग¥यौँ’, उनले भने, ‘त्यसपछि के गर्ने भन्नेबारे केही भनिएको छैन, यहाँ व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) पनि छैन, ज्वरो नाप्ने क्लिनिक पनि छैन, कोरोना डेडिकेटेडको पूर्वाधार के हो? हामी बुझ्दैनौँ, प्रदेश सरकारबाट थप कुरा आएको छैन, हामीले पनि मिडियाबाट थाहा पाएका हौँ। अहिलेसम्म लिखित जानकारी आएको छैन।’
व्यवस्थापन समितिका अध्यक्ष पौडेलले यसो भनिरहँदा ओपीडी बन्द थियो भने मेडिकल अफिसर कविता पाठकसहितका केही स्वास्थ्यकर्मी मात्रै अस्पतालमा रहेका देखिन्थे। अहिले सो अस्पतालमा सामान्य बेड मात्रै रहेका छन्। त्यहाँ ४ वटा आईसीयू र एउटा भेन्टिलेटर मात्रै रहेको छ। कोरोना उपचार केन्द्र बनाउने हो भने १० वटा आईसीयू, हरेक बेडमा अक्सिजन पाइपलगायतका पूर्वाधार बनाउनुपर्ने बताइए पनि त्यसपछि प्रदेश सरकारबाट केही नभनिएको र सामान पनि नआएको उनले बताए।
समाचार नेपाल खबरमा प्रकाशित छ ।