
नेपालगञ्जको धम्बोजीस्थित वीरेन्द्रचोकमा पूर्वराजा वीरेन्द्र शाहको सालिक राख्न आएकाहरुले प्रहरीमाथि ढुंगामुढा गरेपछि स्थिति तनावग्रस्त भएको छ ।
आज (बिहिबार) बिहान स्वतन्त्र अभियान, राष्ट्रवादी युवा समूह र राप्रपा कार्यकर्ताले धम्बोजी चोकमा राजा वीरेन्द्रको शालिक राख्न लाग्दा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको हो।

झडपका क्रममा प्रहरीले लाठीचार्ज र अश्रुग्याँससमेत प्रहार गरेको छ। प्रहरीमाथि ढुंगामुढा भएपछि अश्रुग्याँस र ५ राउन्डभन्दा बढी हवाई फायर गरिएको प्रहरीले जनाएको छ।
झडपका क्रममा केही घाइते पनि भएका छन्। अहिले त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ। स्थानीय प्रशासनले पूर्व राजाको शालिक राख्न नदिने आदेश गरेपछि प्रहरीले पूर्वराजा समर्थकलाई रोकेको थियो।
धम्बोजी चोकमा रहेको शालिक २०६२/०६३ को जनआन्दोलनका क्रममा तोडफोड गरिएको थियो। तत्कालीन राजा वीरेन्द्र शाह र उनको परिवारको हत्या भएको आज २१ वर्ष पूरा भएको छ।


