तारा एयरको जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शव काठमाडौं ल्याइने भएको छ ।
आइतबार पोखराबाट जोमसोमका लागि उडेको जहाज सम्पर्कविहीन भएको थियो ।
त्यसको भोलिपल्ट सोमबार बिहान सो जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।
नेपाली सेना र स्थानीय बासिन्दाको टोलीले शव संकलन गरेको छ । हालसम्म १४ जनाको शव भेटिएको छ ।
जहाजमा चालक दलका तीन सदस्यसहित २२ जना सवार थिए । साेही जहाजमा गोरखाकाे शहिद लखनकाे तिनमाने भन्ने स्थानका एकै परिवारका ४ जना समेत सवार थिए । जसमा गणेश नारायण श्रेष्ठ, राेजिना श्रेष्ठ, रश्मी श्रेष्ठ र रविना श्रेष्ठ रहेकाे पुष्टि भएकाे छ ।
जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए । को पाइलट उत्सव पोख्रेल र एअर होस्टेज किस्मी थापा थिइन् ।