
गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद चार महिना पछाडि सरेर असोज-कात्तिकको मध्यमा हुने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्को सिफारिसमा मन्त्रिपरिषद्को बैठकले मंगलबार यो निर्णय गरेको हो । त्यसअनुसार अब असोज २८ देखि कात्तिक ३ गतेसम्म नेपाली खेलकुदका सबैभन्दा ठूलो खेल महोत्सव हुनेछ ।


यस अगाडि प्रतियोगिता जेठ २२ देखि २८ सम्म हुने तय भएको थियो । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले पत्रकार सम्मेलन गर्दै सबै पक्षको सल्लाहमा प्रतियोगिता सार्ने निर्णय भएको बताए ।
उनले भने, ‘अब हामीसँग प्रतियोगिता आयोजनाका लागि पर्याप्त समय रहेको छ । त्यसैले यसअघिका प्रतियोगितामा भएका सबै कमीकमजोरी सच्याएर सफल आयोजना गर्नेछौं ।’
प्रतियोगिता पछाडि सरे पनि यसलाई लिएर पूर्वनिर्धारित कार्यक्रम भने त्यसैअनुसार सञ्चालन हुनेछन् । नवौं राष्ट्रिय खेलकुद चीनमा हुने १९ एसियाली खेलकुदको छनोट र तयारी पनि रहेको छ ।
एसियाली खेलकुद स्वयं पछाडि सरेको स्थितिमा राष्ट्रिय खेलकुद पनि पछाडि सरेको हो । प्रतियोगितामा ३६ खेल समावेश छन् ।


