• सोमबार, भाद्र २९ २०८३

शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित 


मंगलबार, जेष्ठ १० २०७९
860
Shares

काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजमा शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरू आन्दोलित भएका छन्।

मंगलबार बिहान कलेजका विद्यार्थीहरू आन्दोलित भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक सुदिप गिरीले जानकारी दिए। 

विद्यार्थीहरूमाथि दुर्व्यवहार भएको भन्ने खबर पाएपछि प्रहरीको टोली पुगेको थियो। अहिले प्रहरी परिसर वृत्त गौशालाले घटनासम्बन्धी बुझ्ने काम भइरहेको गिरीले बताए। 

‘अहिले विद्यार्थी तथा अभिभावकहरू गौशालामा छन्,’ उनले भने, ‘जाहेरीहरू लेख्ने काम भइरहेको छ। दर्ता भइसकेको छैन। पीडितहरू धेरै छन्। बुझ्ने काम भइरहेको छ। सबै कुरा खुलिसकेको छैन।’ 

एक विद्यार्थीका अनुसार ती शिक्षकले एक महिनादेखि नै यौन दुर्व्यवहार गर्दै आएका थिए।

‘विद्यार्थीलाई शिक्षकले बिहे गरेपछि बुढीसँग तीन महिनामात्रै रमाइलो हुँदो रहेछ विल यु बि माई सेक्स पार्टनर भनेका रहेछन्,’ ती विद्यार्थीले भनिन्, ‘त्यहाँबाट भाग्न खोज्दा टेबलमा रेस्टिगेट पेपर राखेर कसैलाई भनिस् भने रेस्टिगेट गरिदिन्छु भनेका रहेछन्।’

ती विद्यार्थीले थपिन्,‘साथीहरूसँग हिँड्दा पनि बोलाएर उनीहरूसँग किन हिँडेको, भन्ने गरेको। कलेज फी, बस भाडा पनि लिन्नँ कसैलाई नभन् भनेका रहेछन्।’ 

अरू विद्यार्थीहरूमाथि पनि शिक्षकले यौन दुर्व्यवहार गर्ने गरेको आरोप छ। पीडित विद्यार्थीले अभिभावकलाई भनेपछि मंगलबार घटना बाहिरिएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार