
हाँस्यकलाकार केदारप्रसाद घिमिरे माग्ने बुढाको निर्देशनमा रहने हाँस्यव्यङ्ग्य टेलिभिजन कार्यक्रम ‘कमेडी हब’ जेठ ११ गते बुधबारदेखि हरेक हप्ता प्रसारण हुने भएको छ।
सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा शोका विषयमा औपचारिक जानकारी गराइएको हो।

युवा हाँस्यव्यङ्ग्य कलाकार राजाराजेन्द्र पोखरेलको परिकल्पना रहेको टेलिभिजन कार्यक्रम एपि वान बाट हरेक बुधबार बेलुका ८ बजे पश्चात आउने भएको छ।
कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसहित हाँस्यविधाका चर्चित कलाकारले यस कार्यक्रमको शुभारम्भ गरे। कार्यक्रममा बोल्दै महजोडीले सफलताको कामना गरे।
अभिनेता दीपकराज गिरीले पछिल्लो समय नेपालमा हाँस्यव्यङ्ग्य विधालाई रुचाइन थालिएको बताए। अभिनेता मनोज गजुरेलले हँसाउनु, सामाजिक सन्देश र एकताको सन्देश दिनु कमेडीको उद्देश्य रहेको बताए।
अभिनेता जितु नेपाल मुन्द्रेले पछिल्लो समय टेलिभिजन हेर्ने बानी कम भएको भन्दै अहिले दर्शकले टीभी नभएर टीभीले दर्शक हेर्ने परिस्थिति आएको भन्दै ठट्टा गरे।


