• मंगलबार, कार्तिक ११ २०८३

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए आन्दोलन गर्ने अखिल क्रान्तिकारीको चेतावनी


मंगलबार, जेष्ठ १० २०७९
860
Shares

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल  फिर्ता लिन सरकारसँग माग गरेको छ।

मूल्यवृद्धि फिर्ता नलिए आन्दोलन गर्ने चेतावनीसमेत अखिल क्रान्तिकारीले दिएको छ।

अनेरास्ववियु क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहले एक विज्ञप्ति जारी गर्दै आयल निगमभित्र भएका भ्रष्टाचार, चुहावट, मनलाग्दी कर्मचारी भर्ना, खरिद बिक्रीमा हुने ठूला अनियमितता र बेथितिको अन्त्य गर्नुको साटो मूल्य समायोजनको नाउमा मूल्यवृद्धि मात्र गर्नु अस्वीकार्य रहेको उल्लेख गरेकी छन्।

‘नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरिरहेको मुल्यवृद्धिले नेपाली  जनजीवनमा सृजना गरेको कठिन  परिस्थिति प्रति हामी गम्भीर भएका छौं।

दैनिक जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने पेट्रोलियम पदार्थमा मुलुक चुनावमा होमिएको समयमा पारेर गरिएको मुल्यवृद्धि र त्यसले समग्र क्षेत्रहरुमा पार्ने प्रभावले जनताको ढाड सेक्ने काम गरेको छ,’ विज्ञप्तिमा भनिएको छ।

बहुसंख्यक जनताले निम्न आयमा गुजारा गर्नुपर्ने हाम्रो जस्तो मुलुकमा सरकार नियन्त्रित आयल निगमको जनबिरोध रवैयाले सिमा नाघेको समेत क्रान्तिकारीको ठहर छ।

‘पेट्रोल ग्याँस लगायतका बस्तुमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न जोडदार माग गर्दछौं । यदि हाम्रो आग्रहलाई फेरि पनि लत्याएर आयल निगम समाधान खोज्न तयार नहुने हो भने  हाम्रो धैर्यताको अन्त्य हुनेछ र विद्यार्थी निर्मम संघर्षमा जान तयार छ,’ अखिल क्रान्तिकारी अध्यक्ष सिंहले भनेकी छन्, ‘हाम्रा चेतावनीलाई नियमित ठान्ने भुल नगर्न आयल निगम, विभागीय मन्त्रालय र सरकारको समेत ध्यानाकर्षण गराउन चाहन्छौं।’

सरकारले आइतबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र हवाइ इन्धन (आन्तरिक) लिटरमा १० रूपैयाँ र ग्यासमा प्रतिसिलिन्डर दुई सय रूपैयाँ बढाएको छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसँगै प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएको भन्दै नेपाल आयल निगमले मूल्य बढाएको हो। यसअघि वैशाख ३१ गते मात्र सरकारले पेट्रोल र डिजेल लिटरमा १० रूपैयाँ बढाएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार