• मंगलबार, साउन १२ २०८३

वडाभरका नागरिकलाई निशुल्क एम्बुलेन्स सेवा दिने शरण श्रेष्ठकाे घाेषणा


मंगलबार, जेष्ठ १० २०७९
2.2K
Shares

गोरखा । शहीदलखन गाउँपालिका ७ का वडाअध्यक्ष शरण श्रेष्ठले वडाभरका नागरिकलाई निशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गरेका छन् ।

सोमवार दोस्रो कार्यकालको पदभार ग्रहण गर्दै श्रेष्ठले वडाबासीलाई उपचारका लागि स्वास्थ्य चौकीबाट गोरखा अस्पतालसम्म रिफर गर्नुपरेमा निशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेका हुन् ।

‘पहिलो कार्यकालमा जेष्ठ नागरिक, गर्भवती, सुत्केरी, अपाङ्गता भएकाहरुलाई निशुल्क एम्बुलेन्स सेवा सुरु गरेको थिएँ’, श्रेष्ठले भने ‘यो सेवा निक्कै प्रभावकारी भयो ।

बुङ्कोट स्वास्थ्य चौकीबाट रिफर गर्नुपर्ने र गोरखा अस्पतालमा सेवा लिन जाने सबैलाई अब एम्बुलेन्स निशुल्क गर्नेछौँ ।’ यो सेवा एउटा आर्थिक वर्ष भित्र वडाका एक जना नागरिकले लिन सक्नेछन् ।

बुङ्कोट स्वास्थ्य चौकीलाई सुविधा सम्पन्न बनाउँदै लगिएको र त्यहाँ सम्भव नभएका उपचार गोरखा अस्पतालमा गराउन प्रेरित गर्ने उद्देश्यले आफुले निशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेको उनले बताए । ‘एम्बुलेन्स वा गाडी रिजर्भ गरेर लैजाने पैसाले उपचार खर्चमा सहयोग पुग्छ’, उनले भने, ‘स्थानीय स्वास्थ्य संस्थालसम्म उपचार र परामर्श सेवा लिन आउनेहरु पनि बढ्छन् ।’

बुङ्कोट स्वास्थ्य चौकीमा अघिल्लो कार्यकाल स्तरीय ल्याब सेवा समेत संचालन गरेको बताउँदै उनले सकेसम्म वडाबासीलाई गाउँमै सेवा दिने योजनामा आफु रहेको बताए ।

‘गाउँमा उपचार सम्भव भएन भने तत्काल रिफर गर्न एम्बुलेन्स तयारी हुन्छ’ उनले भने ‘कुन साधनमा गोरखा अस्पताल जाने भन्ने खोजिरहनु पर्ने झन्झट बिरामीलाई नहोस् भनेर यो सुरु गरिएको हो ।’ यसको ब्यवस्थापन भने गाउँपालिकासँगको समन्वयमा वडाले गर्ने उनले बताए ।

बुङ्कोटदेखि गोरखा अस्पताल एम्बुलेन्समा आउँदा बिरामीको करिब दुई हजार रुपैयाँ खर्च हुन्छ । गोरखा अस्पतालबाट अन्यत्र लैजानुपरेमा भने बिरामीले ब्यवस्थापन गर्नुपर्छ ।


वडा कार्यालयले बिगतजस्तै अब पनि सेवाग्राहीलाई निशुल्क हुलाक टिकट उपलब्ध गराउने कामलाई निरन्तरता दिने भएको छ । युवा ब्यवशायी बिपिन पोखरेलले १० हजार रुपैयाँ बरावरको हुलाक टिकट वडा कार्यालयले सोमवार एक कार्यक्रमका बिच उपलब्ध गराएको वडा अध्यक्ष श्रेष्ठले बताए ।

‘हाम्रो वडामा सेवाग्राहीले हुलाक टिकट लिएर आउनु पर्दैन, फोटोकपी पनि हामी निशुल्क गरिदिन्छौँ’, उनले भने, ‘यो अभियान यसअघिको कार्यालयमा सुरु गरेको थिएँ, यो निरन्तर चलिरहनेछ ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार