• सोमबार, भाद्र २९ २०८३

चुनावको दिन पनि मनाङमा पर्यटकलाई प्रवेश खुला


बिहिबार, बैशाख २९ २०७९
660
Shares

यही वैशाख ३० गते हुने स्थानीय तह चुनावको दिन पनि हिमाली जिल्ला मनाङमा बाह्य पर्यटकले प्रवेश पाउने भएका छन्। निश्चित समय तोकिएर नेपाल भ्रमणमा आएका विदेशी पर्यटकलाई सहज बनाउने उद्देश्यले प्रवेश खुला गरिएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ।

पर्यटन बोर्डबाट भ्रमणको आधिकारिक अनुमतिपत्र लिएर आएका पर्यटकलाई मनाङमा प्रवेश दिइने प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए। ‘पर्यटन बोर्डबाट रोड परमिट लिएर आएका पर्यटकले प्रवेश पाउने छन्,’ उनले भने। पर्यटक आउने अनुकूल समय भएकाले नेपाल सरकारले नै पर्यटकलाई प्रवेश दिन सर्कुलर गरेको छ।

‘सोहीबमोजिम मौन अवधिमा सवारीमार्फत पर्यटक मनाङ आउन सक्नेछन् । तर निर्वाचनको दिनमा सवारी सञ्चालनमा रोक लगाइएको छ । पैदलयात्रामा आउने पर्यटकले निर्वाचनकै दिनमा पनि प्रवेश पाउनेछन्,’ आचार्यले भने। पर्यटक विशेषगरी सबैभन्दा उच्च स्थानमा रहेको तिलिचो ताल (४९१९ मिटर) पुग्न मनाङ आउने गरेका छन् ।

विदेशी पर्यटक विशेषगरी अन्नपूर्ण पदमार्गको यात्रामार्फत तिलिचो ताल पुग्ने गर्दछन्। विदेशी पर्यटक हिमालको काखमा पुगेर मनोरञ्जन लिनुका साथै हिमाल आरोहण गर्न आउने गर्दछन् । थोराङ्ला पास, तिलिचो ताललगायतका स्थानको भ्रमण तथा अवलोकनका लागि पर्यटक मनाङ आउने गर्दछन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार