
हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको छ। चक्रवात “असानी” हाल पश्चिम-मध्य बंगालको खाडीमा रहेको छ।
देशभरको मौसम बदली रही आज बुधबार अधिकांश स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। प्रदेश १का एक-दुई स्थानहरूमा मेघरगर्जन सहित वर्षा भइरहेको छ।
बुधबार दिउँसो प्रदेश १ र अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै, राती प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेश सामान्य बदली रही अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ।
प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।


