
गोरखा। गोरखाका महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि फेसन डिजाईनर सिलाई तालिम दिइएको छ । गोरखा उद्योण वाणिज्य संघ, महिला उद्यमी विकास समितिको आयोजना तथा गोरखा नगरपालिकाको आर्थिक सहयोगमा तालिम दिइएको हो ।
कार्यक्रममा प्रमुख अथिति एवं गोरखा नगरपालिकाका कार्यवाहक मेयर बिनाकुमारी श्रेष्ठले महिलाहरुको आर्थिक स्तर सुधार गर्दै आत्मनिर्भर बनाउने र क्षमता अभिवृद्धि गर्नका लागि फेसन डिजाईनर तालिम संचालन गरिएको बताए ।
तालिममा नगरपालिका भित्रका २७ जना महिलाको सहभागिता रहेको गोरखा उद्योग वाणिज्य संघ, महिला उद्यमी विकास समितिका अध्यक्ष सुशीला श्रेष्ठले बताइन् । गोरखा नगरपालिकाको सहयोगमा चैत्र ९ गतेबाट सुरु भएको तालिम शनिवार सकिएको छ ।


डेढ महिनासम्म संचालन भएको तालिममा महिलासँग सम्बन्धित विभिन्न तरिकाका फेसन डिजाईनर सम्बन्धी सिप सिकाइएको उनले बताइन् ।
फेसन डिजाइन, सिलाई सम्बन्धी व्यवसाय गर्दै आएका महिलाहरुलाई अझै प्रभावकारी रुपमा व्यवसाय संचालन गर्न तालिम संचालन गरिएको उनले बताईन् । तालिममा मुख्य प्रशिक्षक मृदुला शर्मा र सहायक प्रशिक्षक सुष्मा थापाले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।
गोरखा उद्योण वाणिज्य संघ, महिला उद्यमी विकास समितिका अध्यक्ष सुशीला श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, महिला उद्यमी विकास समितिका संस्थापक अध्यक्ष देवु मास्के, पत्रकार महासंघका अध्यक्ष नरहरि सापकोटा, प्रशिक्षक मृदुला शर्मा लगायतले मन्तब्य राखेका थिए ।


