
गोरखा। गोरखामा १९ औं सवालाख रोट महोत्सव जेष्ठ २ देखि १२ गतेसम्म हुने भएको छ ।

नेपालको प्रसिद्ध धार्मिक स्थल गोरखनाथ गुफामा विगत १८ वर्ष देखि निरन्तर सवालाख रोट महोत्सव गर्दै आएको सिद्धाश्रम शक्ति केन्द्रले जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गर्दै यस वर्ष पनि सो महोत्सव हुने जानकारी दिएको हो ।
केन्द्रका संयोजक किशोरकुमार अकेलाले यस वर्ष पनि बैशाखी पुर्णिमाबाट रोट महोत्सव गर्न लागेको उनले बताए । गोरखा दरवारमा चल्ने रोट महोत्सव बिगत दुई वर्ष कोरोनाका कारण खासै उल्लासमय हुन सकेन । दुई वर्ष सम्म नित्य पुजा अन्र्तगत रोट चढाइएको थियो ।


अहिले भने कोरोनाको त्रास कम भएकाले भक्तजनको उल्लेख्य उपस्थिती रहने केन्द्रका अध्यक्ष राजु अर्यालले बताए । ‘रोट महोत्सव सफल बनाउन हामीलाई सबैको साथ सहयोग चाहिएको छ’ उनले भने । सामान्यतया १५ देखि २० हजार भक्तजन रोट महोत्सवमा सहभागी हुने उनले बताए ।

महोत्सव गर्न करिब १८ देखि २० लाख लाग्ने उनले बताए । लाग्ने खर्च हरेक वर्ष शक्ति केन्द्र, साधक, साधिक, भक्तजन र स्थानीय समाजसेवी, संघ संस्थाबाट स्वेच्छिक रुपमा जुटाईने उनले बताए ।
११ दिन सम्म चल्ने महोत्सवका लागि गोरखा आउने श्रद्धालु भक्तजनको आवास र खानाको प्रवन्ध समेत आयोजकले मिलाएको छ । जेठ २ गते बाजागाजा सहित गोरखा सदरमुकामबाट गोरखनाथ मन्दिर सम्म रथयात्रा गरिनेछ । रोट महोत्सवमा हरेक दिन साधक साधिकहरुबाट धार्मिक प्रवचन तथा भजनकिर्तन समेत हुने केन्द्रले जनाएकाे छ । महोत्सवमा नेपालको विभिन्न जिल्लाबाट पनि ठुलो संख्या भक्तजनहरु आउने गर्छन् ।



