
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत आगामी जुनमा अमेरिकामा हुने श्रृंखलामा नेपालले पहिलो खेल ओमानसँग खेल्ने भएको छ ।

नेपाल, ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक श्रृखंला जुन ८ देखि १५ सम्म अमेरिकाको हुस्टनमा हुँदैछ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आफ्नो आधिकारिक वेबसाइटमा उक्त श्रृंखलाको खेल तालिका अपडेट गरेको छ । जसमा नेपालले पहिलो खेल जुन ९ (जेठ २६) मा ओमानसँग खेल्नेछ । यस्तै दोस्रो खेल जुन ११ (जेठ २८) मा नेपालले अमरिकासँग खेल्नेछ ।
त्यसपछि नेपालले जेठ ३१ गते फेरि ओमानसँग र असार १ गते अमेरिकासँग खेल्नेछ । सन् २०२३ को एकदिवसीय विश्वकपमा छनोटको आधारको रुपमा रहेको लिग टु मा कूल ७ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् ।
जसमा नेपाल १२ खेलबाट १२ अंक जोडेर छैटौं स्थानमा छ । नेपालले अहिलेसम्म जम्मा तीन वटा श्रृंखला खेलेको छ । नेपाल, अमेरिका र ओमान सम्मिलित श्रृखंला नेपालले पहिलो पटक २०२० फेब्रुअरीमा टीयू मैदानमा खेलेको थियो ।
त्यसपछि सन् २०२१ सेप्टेम्बरमा यही तीन राष्ट्र सम्मिलित श्रृखंला नेपालले खेलेको थियो । पछिल्लो पटक नेपालले युएई र पपुवा न्यूगिनीसहितको लिग टु श्रृंखला गत मार्चमा युएईमा खेलेको थियो ।

