Staff of jwellery shop managed Gold in newroad on Monday.As per the association,Gold was traded at Rs 67800 per tola in the local market on Monday.PHOTO:KIRAN PANDAY

बुटवलमा तीन सय ८३ तोला सुन र नगद पाँच लाख चोरी भएको छ। बिपी चोकमा रहेको नन्दराम सुनारको सुनचाँदी पसलबाट करिब पाँच करोड मूल्यबराबरको गरगहना र नगद पाँच लाख चोरी भएको छ।
उक्त पसलबाट तीन सय ६० तोलाका तयारी गहना र २३ तोला काँचो सुन चोरी भएको व्यवसायीहरूले आज पत्रकार सम्मेलन गरेर बताएका छन्। घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको बताएको छ। सिसीक्यामेरा फुटेज हेरेर अनुसन्धान सुरू गरिएको छ।

पसल राख्न भन्दै घर भाडामा लिएर उक्त व्यक्तिहरूले चोरी गरेको आशंका छ। योगेन्द्र अग्रहरिको घर भाडामा लिएर उनीहरूले कपडा पसल राख्न डेकोरेसनको कामसमेत थालेका थिए। भारतीय नागरिकहरू चोरीमा संलग्न रहेको आशंका छ। कपडा पसल राख्न भाडामा लिएकै घरमा सुन पसल पनि थियो।
सुनचाँदी व्यवसायी संघ रूपन्देहीका अध्यक्ष रामकृष्ण विश्वकर्माले यो चोरीको घटना रूपन्देहीमा अहिलेसम्मकै ठूलो भएको बताए। पटकपटक सुनचाँदी पसलमा चोरी हुने घटना भए पनि संलग्नहरू पक्राउ नपरेको व्यवसायीहरू बताउँछन्।
यसअघि सैनामैना रानीबगियामा सुन पसलमा लुटपाट गर्न आएकाहरूले व्यवसायीलाई आक्रमण गरी घाइते बनाएका थिए। बुद्धनगरमा एक महिलाको सुन लुटेको घटना पनि सार्वजनिक भएको थियो। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले सुन चोरी गर्नेहरूको खोजि भइरहेको बताए।


